काभ्रेका पालिका प्रमुख र उपप्रमुख, जो फेरि निर्वाचित भए


मेचीकाली

काभ्रे– स्थानीय तहको निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकाल दोहोराउन चाहने जनप्रतिनिधीहरु पराजित भएको अवस्थामा काभ्रेका पाँच वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष तथा उपप्रमुखका उम्मेदवार दोस्रो कार्यकालका लागि पुनः दोहोरिनु भएको छ । यस पटकको स्थानीय तहको निर्वाचनमा तीन जना नगरपालिकाको प्रमुख, एक जना गाउँपालिका अध्यक्ष र एक जना नगर उपप्रमुख पदमा दोस्रो कार्यकालको लागि दोहोरिनु भएको हो । 

यस वर्षको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट एमाले काभ्रेका अध्यक्ष अशोक कुमार ब्याञ्जु दोस्रो कार्यकालको लागि धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा विजयी हुनु भएको छ । उहाँले गठबन्धन तथा स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै धुलिखेलको नगर प्रमुखमा विजयी हुनु भएको छ । उहाँले गठबन्धनका तर्फबाट उम्मेदवार दिनु भएका एकिकृत समाजवादीका दयासागर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार बिदुर बस्तेलाई पराजित गर्नु भएको हो । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ब्याञ्जु नेकपा एमालेको तर्फबाट नै नगर प्रमु्ख बन्नु भएको हो ।  यसैगरी जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर प्रमुख पदमा पुनः टोकबहादुर वाइवा विजयी हुनु भएको हो ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिई नगर प्रमुख पदमा विजयी हुनु भएका वाइवा नेकपा एकिकृत समाजवादी काभ्रेको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले एमालेका बिदुर प्रसाद सापकोटालाई पराजित गर्नु भएको हो । वाइवा यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नगर प्रमुख बन्नु भएको थियो । यसैगरि जिल्लको पाँचखाल नगरपालिकाको नगर प्र्रमुख पदमा नेपाली काँग्रेसका नेता महेश खरेल दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित हुनु भएको छ । उहाँले एमालेका कञ्चन अधिकारीलाई पराजित गर्नु भएको हो । यस पटकको निर्वाचनमा जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाको अध्यक्षमा पुनः कान्छालाल जिम्बा विजयी हुनु भएको छ । 

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट विजयी हुनु भएको जिम्बाले नेकपा एमालेका अध्यक्षका उम्मेदवार पूर्णबहादुर वाईवालाई पराजित गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस वर्षको स्थानीय तहको निर्वाचनमा जिल्लाको पनौती नगरपालिकाको उपप्रमुख पदमा दोस्रो कार्यकालका लागि पुनः गीता बञ्जारा दोहोरिनु भएको छ । उहाँले गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका छवीलाल हुमागाँईलाई पराजित गर्नुभएको हो । यस पटकको निर्वाचनमा दोस्रो कार्यकाल दोहोराउने इच्छा अनुरुप पनौती नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएका एमालेका भिम न्यौपाने र जिल्लाको खानीखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएकी रुक्मिणी गुरुङ पराजित हुनु भएको छ । यस पटकको निर्वाचनका दुई दर्जन वडामा पुरानै वडा अध्यक्ष दोहोरिनु भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु