पाँचखाल र चौरीदेउरालीको झडप : किन पक्राउ परेनन् तोडफोडमा उत्रनेहरु ?


मेचीकाली

काभ्रे–काभ्रेका केही मतदान केन्द्रबाहेक अधिकांश स्थानीय तहमा शान्तिपूर्णरुपमा मदतान सम्पन्न भएको छ । 

तर, जहाँ तनावग्रस्त अवस्था सिर्जना भयो, त्यहाँ सुरक्षा निकायको बलियो उपस्थिति देखिएन । राजनीतिक दलका नेता कार्यकर्ता पनि विवाद मिलाउन भन्दा तोडफोड र आक्रमणमा व्यस्त देखिए । 

स्थानीय तह सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ । तर, काभ्रेको पाँचखाल नगरपालिका १३ कोशीदेखास्थित श्रीराम मावि र चौरीदेउराली गाउँपालिका ६ को प्रभा माविको मतदान केन्द्रमा भएका झडप नियन्त्रण गर्न सुरक्षा निकाय असफल देखिएको छ । 

पाँचखाल १३ को श्रीराम मावि मतदान केन्द्रमा गठवन्धनमा आवद्ध दलका कार्यकर्ताले तोडफोड मच्चाएपछि मतदान नै हुन सकेन । बीचमा रोकिएको मतदान कार्य अब कहिले हुन्छ भन्ने टुंगो यो समाचार तयार पार्दासम्म लागिसकेको छैन । मतदान केन्द्रमा भएको झडपको १० मिनेटभन्दा लामो भिडियो सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ । जहाँ कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमा रहेका टेबल फोडेको, अन्य दलका समर्थक र सर्वसाधारणलाई लखेटेको देखिएको छ । तर, सुरक्षाकर्मीले एकजनालाई पनि पक्राउ गरेर कार्बाहीको दायरामा ल्याउन सकेको छैन । 

चौरी देउराली ६ को प्रभा मावि मतदान केन्द्रमा साढे पाँच घण्टासम्म मतदान रोकियो । गठवन्धनमा आवद्ध दलका कार्यकर्ताले मतपेटिका तोडफोड गर्दासमेत सुरक्षाकर्मीले रोक्न सकेनन् भने तोडफोडमा उत्रने पक्राउसमेत परेका छैनन् । 

जिल्लाकै तेमाल ७ मा झडपको अवस्था सिर्जना भएपछि हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा ल्याइएको थियो । तर, पाँचखाल र चौरीदेउरालीमा भने सत्ताको चरम दरूपयोग भएको विपक्षीको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले प्रहरी तथा सुरक्षा निकायले निर्वाचनमा खटिएका कर्मचारी तथा निर्वाचनको सामग्री समेत सुरक्षा गर्नुपर्ने र सोही कार्यमा लागेको हुँदा सार्वजनिक भएका भिडियोहरुमा सुरक्षाकर्मी नदेखिएको हुनसक्ने बताए । उनले दुबै घटनामा अहिलेसम्म कोही पक्राउ नपरेको पनि बताए । 


प्रतिक्रिया



थप समाचारहरु