धुलिखेलमा एसमाथि धोका, जेब्रामा भोट माग्दै कांग्रेस कार्यकर्ता (भिडियो)


मेचीकाली

धुलिखेल–भन्नलाई यतिबेला धुलिखेलमा नेकपा एमालेविरुद्ध सत्तारुढ दलहरुको चुनावी गठवन्धन छ । तर, व्यवहारमा भने सत्ता गठवन्धनकै उम्मेदवार हराउन गठवन्धन आवद्ध दलकै नेता कार्यकर्ता लागिरहेका छन् ।

एमालेविरुद्ध गठवन्धन गर्नेक्रममा धुलिखेलको नगर प्रमुखको भाग नेकपा एकीकृत समाजवादीको भागमा पर्यो । त्यसपछि असन्तुष्ट बनेको कांग्रेसले पार्टीबाट आधिकारिक उम्मेदवार उठाउन सकेन तर सोही पार्टीका नगर सभापति विदुर बस्नेत स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा ओर्लिए ।

अहिले उनको पछिपछि कांग्रेसका नेता कार्यकर्ता लागेका छन्, उता समाजवादीबाट नगर प्रमुख पदमा उम्मेदवार दिएका गठवन्धनका आधिकारिक उम्मेदवार दयासागर श्रेष्ठ भने एक्लै परेका छन् । नेपाली कांग्रेसका नेता कार्यकर्ताले वडाहरुको चुनावी अभियानको क्रममा ६ भोट रुखमा र एक भोट जेब्रामा माग्ने गरेका छन् । जेब्रा चुनाव चिह्न स्वतन्त्र उम्मेदवार वस्नेतको चुनाव चिह्न हो । कांग्रेस कार्यकर्ताहरुको अहिले एउटै नारा छ– एक भोट घोडामा अरु सबै वडामा, अर्थात उनीहरु पार्टीले गरेको गठवन्धनविरुद्ध छन् र नेकपा एस माथि घात गरिरहेका छन् । 

नेपाली कांग्रेसले गठवन्धनविरुद्ध उम्मेदवारी दिएकालाई तथा उनीहरुका समर्थक र प्रस्तावकलाई कार्बाही गर्ने चेतावनी पटकपटक दिइसकेको छ । त्यो व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । वस्नेतमाथि कार्बाही गरिएको आधिकारिक निर्णय अझै सार्वजनिक भएको छैन, जसले नेपाली कांग्रेस आफैंले संस्थागतरुपमै गठवन्धनमाथि नै घात गरिरहेको आशंकालाई मलजल गरिरहेको छ । वस्नेतको चुनावी अभियानका सदस्यहरुसमेत उपप्रमुखदेखि वडाअध्यक्ष र वडा सदस्यमा रुपमा भोट हाल्न आह्वान गर्छन् अनि प्रमुखमा नेकपा एसको कलम चिह्नमा होइन जेब्रामा भोट माग्छन् ।

जिल्लामा लामो रस्साकस्सीपछि गठवन्धनको टुंगो लागेसँगै कांग्रेस धुलिखेल नगर समितिले त्यसलाई अस्वीकार गरेको थियो । तर, केन्द्रीय निर्देशन मान्दै देखावटीका लागि गठवन्धन स्वीकार गरे पनि व्यवहारमा भने धुलिखेलमा कुनै गठवन्धन हुन सकेको छैन र नेकपा एस एक्लिएको छ । नेकपा एसका नेता कार्यकर्ता भने कांग्रेसबाट धोका पाएपछि निराश बनेका छन् ।


भिडियो



प्रतिक्रिया



थप समाचारहरु