काभ्रेमा सकियो घरदैलो : एमाले उत्साही, गठवन्धन अन्योलमा


मेचीकाली

बनेपा–स्थानीय निर्वाचन २०७९ का लागि काभ्रेका राजनीतिक दलहरुले घरदैलो र प्रचार अभियान सकेका छन् । 

यही वैशाख १२ गते उम्मेदवारी दर्ता भएसँगै दलहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका थिए । सकेसम्म मतदाताको घरसम्मै पुगेका उम्मेदवारहरुले बीचबीचमा कोणसभा र वृहत सभासमेत गर्न भ्याए । आज राती १२ बजेदेखि निर्वाचनको मौन अवधी सुरु हुँदैछ । अब निर्वाचन प्रचारका कुनै पनि काम राजनीतिक दल र उम्मेदवारले गर्न पाउँदैनन् । सामाजिक सञ्जाल र अन्य कुनै पनि माध्यमबाट पनि चुनावको प्रचारप्रसार गर्न पाइने छैन । 

एमालेमा उत्साह

आफूविरुद्ध पाँच दलको गठवन्धन भए पनि घरदैलो कार्यक्रमपछि काभ्रेमा नेकपा एमाले उत्साही देखिएको छ । घरदैलो, कोणसभा लगायतका कार्यक्रममा जनताबाट उल्लासपूर्ण ढंगले साथ पाएको एमाले काभ्रेका नेताहरुले बताएका छन् । पार्टीभित्र कुनै विवाद नहुनु र एमालेले विगतमा स्थानीय तह, प्रदेश र संघ सरकारमा हुँदा गरेका कामको आधारमा जनताले साथ दिएको उनीहरुको भनाई छ । एमालेले आज जिल्लाका १३ वटै पालिकामा कोणसभा र वृहत सभा आयोजना गरेर प्रचार अभियान टुंग्याएको छ । प्रचार अभियानका क्रममा जिल्ला तहका नेताहरुका साथै पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, बागमति प्रदेश कमिटीका नेताहरु पनि निरन्तर जिल्लाका पालिकाहरुमा चुनावी अभियानमा सहभागी भए । 

गठवन्धन अझै अन्योलमा

काभ्रेका १३ वटै पालिकाको प्रमुख र उपप्रमुख पदमा कांग्रेस, माओवादी र नेकपा एसबीच गठवन्धन भएको छ । तर, वडा तहमा गठवन्धन हुन नसकेपछि गठवन्धनको चुनावी अभियान त्यति प्रभावकारी देखिएन । जिल्ला सदरमुकाम धुलिखेलमा गठवन्धनबीच सबैभन्दा ठूलो तिक्तता देखियो । धुलिखेलमा नेकपा एसले नगर प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा भागवण्डा गरेर । केन्द्रबाट थोपारिएको भागवण्डाले स्थानीयस्तरका कांग्रेस कार्यकर्तालाई आक्रोशित बनायो । जसका कारण नगर सभापति विदुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिए । उनको उम्मेदवारी फिर्ता गराउन अन्तिम समयसम्म भएको पहलले काम नगरेपछि कांग्रेसका कार्यकर्ताहरु गठवन्धनका उम्मेदवारलाई  होइन स्वतन्त्र उम्मेदवारलाई मत माग्न व्यस्त भए । जसका कारण धुुलिखेलमा समाजवादी र कांग्रेसबीच तिक्तता उत्पन्न भयो । 

अन्य स्थानीय तहमा पनि गठवन्धनमा आवद्ध दलहरुले संयुक्तरुपमा मत माग्नुको साटो आआफm्नो दलका उम्मेदवारलाई मात्रै भोट मागेपछि गठवन्धनमा आवद्ध दलहरुबीच अविश्वास पैदा भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु