देशभर एकसाथ सुरु भयो मतदान


मेचीकाली

काठमाडौं–पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर बिहान सात बजे मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । 

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् । निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । 

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । विभिन्न स्थानीय तहका ९ स्थानमा भने उम्मेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ । मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचयपत्र आवश्यक पर्छ । तर, मतदाता परिचपत्र हराएको, नष्ट भएकाहरुले पनि भोट हाल्न पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरुको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था गरेको छ ।

 निर्वाचन आयोगले सुरक्षा प्रवबन्ध मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । त्यस्तै मतगणना पनि आजैबाट सुरु हुने आयोगले जानकारी दिएको छ । धेरै स्थानमा आजैबाट मतगणना कार्य प्रारम्भ गर्ने जनाइएको छ । आयोगले जेठ ५ भित्रै मतगणना सक्ने नीति पनि लिएको छ । अधिकांश मतणनास्थलमा सीसी टिभी जडान गरिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु