सुरु भयो चुनावको तयारी


मेचीकाली

काभ्रे–स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । 

चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने भएको छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० दिन चाहिनेमा त्यो भन्दा कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । समय अभाव भएकाले दिनरात चुनावको तयारी गरिने उनले बताए । 

आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ । ७७ वटै जिल्लामा संकलित नामावली अद्यावधिक गरेर आयोगले ७ सय ५३ वटै पालिकामा पठाउने छ । २०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ । चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको आयोगले जनाएको छ । वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो  मताधिकार प्रयोग गर्न नसक्ने पनि आयोगले जनाएको छ । चुनावका बेला नेपाल आए भने मत हाल्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । आयोगले चुनावका लागि निर्देशिका, बजेट र जनशक्तिका विषयमा निर्णय गर्न बाँकी छ । यसपालि चुनावमा १२ अर्बभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ । यस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु