स्थानीय चुनाव : यस्तो छ काभ्रेमा सुरक्षा योजना


मेचीकाली

धुलिखेल-बैशाख ३० हु्ने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि काभ्रेपलाञ्चोक जिल्लामा तीन तहका सुरक्षा निकायका करिब दुई हजार सुरक्षकर्मी परिचालन हुने भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका करिब दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । 

यस पटकको स्थानीय तहको निर्वाचनमा जिल्लाका १३ वटा स्थानीय तहमा रहेका १८९ मतदान केन्द्रका ३८१ मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि करिब छ सयको सङ्ख्यामा नेपाली सेना खटिनेछन् । सेनाको टोलीले जिल्लाका १३ वटै स्थानीय तहमा निर्वाचन लक्षित गस्ती गर्ने लगायतको काम गरिरहेको छ । सेनाले जिल्लाका १८९ मतदान स्थलमा कुनैपनि घटना भएको खण्डमा आधा घण्टामा घटनास्थल पुग्ने गरी सेना परिचालन गरेको छ । सेनाले निर्वाचनको अवधिभर तेस्रो घेरमा बसेर सुरक्षा प्रदान गर्ने काम गर्नेछ । यसैगरी स्थानीय तहको निर्वाचनमा जिल्लाका १८९ मतदान स्थलका ३८१ मतदान केन्द्रको सुरक्षाको लागि ९७९ जना नेपाल प्रहरी परिचालन हुनेछन् । 

काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा ९७९ प्रहरी खटिने बताउँदै निर्वाचनको लागि प्रहरी र म्यादी प्रहरी खटाउने तयारी भईरहेको बताउनुभयो  । उहाँले एउटा मतदान केन्द्रमा न्यूनतम आठ जनादेखि १६ जनासम्म नेपाल प्रहरी खटिने बताउनुभयो । उहाँले निर्वाचनलाई मर्यादित बनाउनका लागि जिल्लामा विभिन्न प्रहरी चौकीमा इन्चार्जहरुलाई लक्षित गर्दै निर्वाचन अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउन्ुभयो । उहाँले प्रहरीलाई दिँदै आएको अनुशिक्षण कार्यक्रम बुधबारसम्म सकिने बताउनुभयो । उहाँले मतदान अधिकृतको टोलीसँगै सुरक्षाकर्मी समेत खटिने बताउनुभयो । यस पटकको स्थानीय तहको निर्वाचनमा जिल्लामा चार सयभन्दा बढी शसस्त्र प्रहरी खटिनेछन् । शसस्त्र प्रहरीको टोलीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गस्ती गर्ने, मतदान अधिकृतको कार्यालयको सुरक्षा, निर्वाचनका सामाग्रीको सुरक्षा प्रदान गर्ने काम गर्नेछ । 

स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा एक हजार ६११ जना म्यादी प्रहरी खटिनेछन् ।यस पटकको स्थानीय तहको निर्वाचनमा जिल्लाका १८९ मतदानस्थलमध्ये १९ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा परेका छन् । यसैगरी ५० वटा मतदानस्थल संवेदनशिल र १२० मतदान स्थल सामान्यको सूचीमा रहेका छन् । तीनै तहका सुरक्षा निकायले सुरक्षा संवेदशिलताको आधारमा सुरक्षाकर्मी खटाएको जनाएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु