काभ्रे-बाली लगाउने समयमा मल र बिउ नपाउने, बल्लतल्ल भएको उत्पादनको बजार मुल्य नपाउने पीडाबाट गुज्रिरहेका काभ्रेली किसान पछिल्लो समय वन्यजन्तुको आतंकबाट झनै पीडित बनेका छन् ।
जिल्लामा वन्यजन्तुको आक्रमणबाट कृषि बाली नष्ट हुने क्रम बढिरहेको छ । तर, उचित क्षतिपूर्ति पाउन नसक्दा किसानको पीडामाथि झनै पीडा थपिएको छ ।
गत आर्थिक वर्षमा मात्रै काभ्रेमा ४ सय भन्दा बढी किसानको मकैबालीमा वन्यजन्तुको आक्रमणबाट क्षति पुग्यो । तर, अहिलेसम्म उनीहरुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।
डिभिजन वन कार्यालय काभ्रेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाको १३ वटा स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहमा वन्यजन्तुले ४५७ जना किसानहरुले लगाएको मकै बाली नष्ट पारेको छ । यस्तै २२ जना किसानको पशुधन (बाख्रा, बोका) मा क्षति पुगेको कार्यालयको तथ्यांक छ । जिल्लाको बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी २७० जना किसानको मकैबाली, भुम्लु गाउँपालिकामा १४ जना, पाँचखाल नगरपालिकामा १२ जना, नमोबुद्ध नगरपालिकामा ३१ जना, चौरी देउराली गाउँपालिकामा छ जना, धुलिखेल नगरपालिकामा सात जना र पनौती नगरपालिकामा ११७ जना किसानको मकै बालीमा क्षति पुगेकोे थियो ।
सरकारले वन्यजन्तुका कारण किसानको अन्नबाली क्षति भएमा दश हजार बराबर, मानवीय क्षति वापत वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएमा दश लाख, समान्य र गम्भिर घाईते भएको खण्डमा मेडिकल काउन्सिलको सिफारिसमा तीन लाख रुपियाँसम्म उपचार खर्च उपलब्ध गराउने छ । वन्यजन्तुको कारण पशुधनको क्षति भएको खण्डमा क्षतिको मूल्याङ्कनको आधारमा क्षतिपूर्ति रकम उपलब्ध गराउने गरिएको छ ।
विगतका वर्षहरुमा शिवपुरी राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तुबीचको द्धन्द्धका क्रममा मानवीय क्षति, अन्नबाली र पशुधनमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउँदै आएपनि पछिल्लो आर्थिक वर्षमा प्रदेश वन निर्देशनालयले राहत उपलब्ध गराउने निर्णय गरेपनि हालसम्म राहत रकम उपलब्ध गराउन सकेको छैन । वन्यजन्तुका कारण मकैबाली तथा पशुधनमा क्षति पुगेका किसानहरुलाई सरकारले उपलब्ध गराउने राहत रकमका लागि किसानको बैङ्क खाता नम्बर र प्यान नम्बर माग गरेका कारण किसानहरुले समयमा नै राहत रकम पाउन नसकेका हुन् ।
प्रदेश वन निर्देशनालयले राहत रकम उपलब्ध गराउनका लागि प्यान नम्बर र बैङ्क खाता नम्बर माग गरेपछि किसानहरुबाट प्यान र खाता नम्बर माग गरेर प्रदेश सरकारसँग राहत रकम माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ । यसैगरी वन्यजन्तुका कारणबाट गत वर्ष मकैबालीमा क्षति पुगेका किसानले राहत रकम नपाएको अवस्थामा आर्थिक २०७९/०८० मा अन्नबाली, पशुधनमा क्षति पुगेका किसानमध्ये अझै १५२ जना किसानले राहत रकम पाउन सकेका छैनन् ।
कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा अन्नबाली, पशुधनमा क्षति पुगेका किसानमध्ये अझै १५२ जना किसानमध्ये १५० जना किसानको लागि राहत रकम आएपनि उनीहरुको बैङ्क खाता र प्यान नम्बर नमिलेका कारण राहत रकम वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ । आव २०७९/०८० मा ३५ वटा पशुधन क्षति वापत सात लाख ६० हजार पाँच सय, एक मानविय क्षति (घाईते) लाई ६६ हजार ८३२ रुपियाँ र ३४९ किसानको अन्नबाली क्षति वापत ३४ लाख ९० हजार गरी कुल ४३ लाख १७ हजार ३३२ रुपियाँ राहत रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
सरकारले वन्यजन्तुका कारण किसानको अन्नबाली क्षति भएमा दश हजार बराबर, मानवीय क्षति वापत वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएमा दश लाख, समान्य र गम्भिर घाईते भएको खण्डमा मेडिकल काउन्सिलको सिफारिसमा तीन लाख रुपियाँसम्म उपचार खर्च उपलब्ध गराउने छ । वन्यजन्तुको कारण पशुधनको क्षति भएको खण्डमा क्षतिको मूल्याङ्कनको आधारमा क्षतिपूर्ति रकम उपलब्ध गराउने गरिएको छ ।