निरन्तर सामाजिक सेवामा क्रियाशिल व्यक्तित्व कुमार थापा


मेचीकाली

बनेपा– नेकपा एमालेबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नं. २ (ख) का उम्मेदवार कुमार थापा लामो समयदेखि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । 

२०२४ सालमा हाल पनौती नगरपालिका ११ बल्थली (साविक बल्थली गाविस ८)मा जन्मिएका थापा सामाजिक क्षेत्रका साथै २०३९ सालदेखि नै राजनीतिक क्षेत्रमा क्रियाशील छन् । २०३९ सालमा अनेरास्ववियु जिल्ला कमिटी काभ्रेको सदस्य भएका थापा २०४० सालमा श्रीराम मावि खोपासीको स्ववियु उपसभापति भए । उच्च शिक्षा अध्ययनको क्रममा २०४१ सालमा अनेरास्ववियु पाटन संयुक्त क्याम्पसको प्रारम्भिक कमिटी अध्यक्ष भएका उनी २०४३ सालमा अनेरास्ववियु ललितपुर जिल्ला कमिटीको सदस्य बनेका थिए । २०४३ असारमै पार्टी प्रवेशपत्र प्राप्त गरेका थापाले २०४७ सालमा पार्टीको संगठित सदस्य प्राप्त गरेका थिए । 

२०५० सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ काभ्रेको संयोजक, २०५२ सालमा एमाले काभ्रे जिल्ला कमिटीको सदस्य बनेका थापा २०५४ सालमा भएको निर्वाचनबाट तत्कालिन जिल्ला विकास समितिको सदस्य बनेका थिए । जिविस सदस्य रहँदा काभ्रेको दक्षिण भेगमा विकासको लहर ल्याउन थापाले खेलेको भूमिकाको अहिले पनि काभ्रेबासीले प्रशंसा गर्ने गर्दछन् । 

२०६० सालदेखि निरन्तर ८ बर्षसम्म नेकपा एमाले काभ्रेको स्कुल विभाग प्रमुख भई काम गरेका थापा २०६५ सालमा एमाले केन्द्रीय स्कुल विभागको सदस्य बनेका थिए । २०५२ सालदेखि निरन्त २०७३ सालसम्म जिल्ला कमिटी सचिवालय सदस्य बनेका थापा अहिले प्रदेशसभामा निर्वाचित हुँदै संसदीय राजनीतिमा अघि बढ्ने अभियानमा लागेका छन् । नेकपा विभाजनपछि उनी पार्टी केन्द्रीय सदस्यसमेत भएका थिए ।

२०५३ सालदेखि लगातार कमलादेवी जनप्रिय माविको व्यवस्थापन समितिको अध्यक्ष बन्दै शैक्षिक सुधारको क्षेत्रमा क्रियाशिल भएका थापा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् । २०५५ सालमा नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाको तदर्थ समितिको संस्थापक रहेका निरन्तर नेपाल रेडक्रस सोसाइटी काभ्रेको कार्यसमितिमा रही  उनी रेडक्रस मार्फत निरन्तर सामाजिक सेवामा क्रियाशिल व्यक्तित्व हुन् । उनी २०७० सालदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको सल्लाहकार रहनुका साथै २०७७ देखि हालसम्म नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति सदस्य हुन् । 

२०६२÷६३ को जनआन्दोलनमा सक्रियतापुर्वक नेतृत्व गरेका थापा जनआन्दोलनका घाइते पनि हुन् । 

कोभिड–१९ को महामारीको समयमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा रेडक्रसका उपशाखा एवं अन्य संस्थामा स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु