भकुण्डेवेशी प्रकरण : भिडियो खिच्ने र फैलाउने कानुनी फन्दामा पर्दै


मेचीकाली

काभ्रे-काभ्रेको भकुण्डेवेशीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) गणेशकुमार श्रेष्ठसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ । हिजोसम्म श्रेष्ठ र अर्की एक युवतीको भिडियो फैलाइरहेको समूहको अहिले भागाभाग हुने अवस्था आएको छ । यो प्रकरणले अब फौजदारी अनुसन्धानको रूप लिएपछि आफैं ‘प्रहरी’ र ‘पत्रकार’ बन्दै भिडियो खिच्नेहरुको भागाभाग हुन थालेको छ । 

भिडिओ सार्वजनिक भएपछि आफ्नो व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा गम्भीर असर परेको भन्दै सम्बन्धित युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिइसकेकी छन् । जाहेरी दर्ता भएसँगै प्रहरीले भिडिओ खिच्ने, सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमार्फत प्रसार गर्ने व्यक्तिहरूको पहिचान गरी अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार युवतीको जाहेरीका आधारमा घटनालाई फौजदारी कसुरका रूपमा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनालाई वैयक्तिक गोपनीयता उल्लंघन, साइबर अपराध तथा अभद्र व्यवहारलगायतका कानुनी कोणबाट हेरिरहेको छ ।

अनुसन्धानको दायरामा भिडिओ खिच्ने व्यक्तिमात्र नभई त्यसलाई सामाजिक सञ्जालमा अपलोड गर्ने, सार्वजनिक गर्ने र विभिन्न माध्यमबाट पुनः फैलाउने व्यक्तिसमेत आउन सक्छन् । यसैबीच घटनामा जोडिएका सई गणेशकुमार श्रेष्ठमाथि प्रहरी संगठनले छुट्टै आन्तरिक छानबिन अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले श्रेष्ठको पदीय आचरण, अनुशासन तथा घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ । समितिको प्रतिवेदनका आधारमा दोषी देखिए विभागीय कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।

सोमबार बिहानदेखि सामाजिक सञ्जालमा नमोबुद्ध नगरपालिका–४ भकुण्डेवेशीस्थित प्रहरी चौकीका इन्चार्ज श्रेष्ठ एक गेस्ट हाउसमा युवतीसँग रहेको अवस्थामा ‘रङ्गेहात पक्राउ’ गरिएको दाबी गर्दै भिडिओ व्यापक रूपमा शेयर भएको थियो । भिडिओमा केही व्यक्तिहरू कोठाभित्र प्रवेश गरी युवतीले आफ्नो अनुहार छोप्न खोज्दासमेत क्यामेरा सोझ्याएर दृश्य कैद गरेको देखिन्छ । घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि त्यसमा देखिएकी युवतीको पहिचानसमेत सार्वजनिक भएको छ । यही विषयलाई लिएर व्यक्तिगत गोपनीयताको अधिकार, भिडिओ खिच्ने तथा सार्वजनिक गर्ने कानुनी सीमा र सामाजिक सञ्जालको जिम्मेवारीबारे प्रश्न उठिरहेका छन् । प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धानबाट स्पष्ट हुने जनाएको छ । एकातर्फ सई श्रेष्ठको आचरणबारे विभागीय छानबिन भइरहेको छ भने अर्कोतर्फ युवतीको गोपनीयता उल्लंघन गर्दै भिडिओ उत्पादन तथा प्रसारमा संलग्न व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान अघि बढाइएको छ ।


प्रतिक्रिया



थप समाचारहरु