एउटै विद्यालयका आधा दर्जनको बालविवाह


मेचीकाली

काभ्रे– काभ्रेको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिका– १ देवीटारमा रहेको एउटा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत आधा दर्जन बालबालिकाले वाल विवाह गरेको पाइएको छ । २०७८ सालमा स्थानीय देविस्थान माध्यमिक विद्यालयमा अध्ययनरत आधा दर्जन छात्रछात्राले वाल विवाह गरेका हुन् । धुलिखेल नगरपालिका– १ वडा अध्यक्ष सन्तबहादुर तामाङ अघिल्लो वर्ष स्थानीय देविस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बालविवाह गरेकोले बताउनुभयो । 

बालबालिकाको वाल विवाह भएपनि हालसम्म त्यस विरुद्ध कुनै निकायमा उजुरी भने परेको छैन । ‘वडामा रहेको देविस्थान माविको कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुले अघिल्लो वर्ष बाल विवाह गरे यसलाई रोक्नका लागि बिद्यालय, अभिभावक र सम्बन्धित निकायको ध्यान जानुपर्छ, वडा अध्यक्ष तामाङले थप्नुभयो । उहाँले २०७८ सालमा विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने तीन÷चार जनाले विवाह गरेको बताउनुभयो । ‘अघिल्लो वर्ष गाउँमा बालविवाह भएपछि मैले तत्कालिन वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापकसँग कुरा गरे तर उहाँहरुले आफुहरु एक्लैले मात्रै बाल विवाह रोक्न सम्भव नभएको बताउनुभयो, मेरो आफ्नै टोलमा समेत बालविवाह हुँदा मैले अभिभावकलाई सम्झाउने कोशिस गरे तर उहाँहरुले उल्टै मलाई नै नराम्रो दृष्टिले हेर्नुभयो’ वडा अध्यक्ष तामाङले थप्नुभयो । उहाँले बालविवाह रोक्नको लागि अभिभावक, बिद्यालय, स्थानीय सरकार तथा सम्बन्धित सबै निकायको ध्यान जानुपर्ने बताउनुभयो । 

उहाँले बालविवाहको प्रकृति हेर्दा बिद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकास तथा सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बालविवाह हुने गरेको बताउनुभयो । अघिल्लो वर्ष उक्त विद्यालयमा अध्ययनरत कक्षा ९ मा अध्ययनरत पाँच जना र कक्षा १० मा अध्ययन गर्ने दुई जनाले बालविवाह गरेको शिक्षक रामेश्वर पौडेलले बताउनुभयो । उहाँले बालविवाह गर्नेमा कक्षा नौ मा अध्ययनरत दुई छात्र र तीन छात्रा तथा दश कक्षामा अध्ययनरत दुई छात्रा रहेको बताउनुभयो । उहाँले बालविवाह गरेका केही विद्यार्थीले बिद्यालय छोडेपनि केहीले भने बिद्यालयमा अध्ययन गरिरहेको बताउनुभयो । वडा अध्यक्ष तामाङले वडामा हुने बालविवाह रोक्नको लागि अभिभावक र विद्यालयका शिक्षकहरुसँग अन्र्तक्रिया गरी बालविवाहबाट पर्ने प्रभावको बारेमा जानकारी दिईने बताउनुभयो । उहाँले घरमा अभिभावक र विद्यालयमा शिक्षकले बिद्यार्थीको चालचलन बुझ्नुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले केहि समयअघि जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा दुवै पालिकामा बाल विवाहको क्रम अहिले पनि रहेको पाइएको बताउनुभयो  । ‘हामीले डाँडापारी क्षेत्रको भ्रमण गर्ने क्रममा कक्षा सातसम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा आठमा पुगेपछि बर्षेनी विद्यार्थीको सङ्ख्या कम हुने जानकारी पाएका थियौँ’ उहाँले थप्नुभयो । उहाँले बिद्यार्थी कम हुनुको मुख्य कारणको रुपमा बाल विवाह रहेको बताउनुभयो । प्रहरी उपरीक्षक जोशीले जिल्लामा बालविवाह भईरहेको अनौपचारिक जानकारी प्राप्त भएपनि त्यस विरुद्ध कुनै मुद्धा नपरेको बताउनुभयो । उहाँले बालविवाह रोक्नका लागि सबै सम्बन्धित निकायबीच सहकार्य गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु