समानुपातिक निर्वाचन : काभ्रेमा पहिलो दल एमाले, माओवादी चौंथो


मेचीकाली

बनेपा–मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काभ्रेमा प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आइसकेको छ । 

प्रत्यक्षतर्फ एमालेले काभ्रे क्षेत्र नं. २ मा जित हासिल गरेको छ भने एमालेसँग भिडेको पाँचदलीय गठवन्धन अन्य बाँकी क्षेत्रमा विजयी भएको छ । प्रत्यक्षमा गठवन्धनका कारण थोरै मतका कारण पछि परेको एमाले समानुपातिकतर्फ भने पहिलो भएको छ । 

काभ्रेका दुबै क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेले कुल ५८ हजार ७ सय ८४ मत पाएको छ । काभ्रेका दुबै क्षेत्रमा गरी कुल ३ लाख १० हजार ६३ जना मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नं. १ मा ८३ हजार ६ सय ३३ र २ मा १ लाख ३ हजार ६६१ मत खसेको थियो । क्षेत्र नं. १ मा ७९ हजार ९११ मत सदर हुँदा नेकपा एमालेले २४ हजार ७९ मत पाएको छ । यस्तै क्षेत्र नं. २ मा ९९ हजार ७ सय ४८ मत सदर हुँदा एमालेले ३४ हजार ७ सय ५ मत पाएको छ । एमालेले काभ्रेका दुबै क्षेत्रमा पहिलो स्थान हासिल गरेको छ । 

प्रतिनिधिसभातर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले क्षेत्र नं. १ मा २१ हजार ७५५ र २ मा २६ हजार ५५६ गरी कुल ४८ हजार ३ सय ११ मत पाएको छ । यो नेकपा एमालेको भन्दा १० हजार ४ सय ७३ मत कम हो । काभ्रेमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । उक्त पार्टीले क्षेत्र नं. १ मा ९ हजार ७९४ र २ मा १६ हजार ८२४ मत गरी कुल २६ हजार ६१८ मत पाएको छ । क्षेत्र नं. १ मा गठवन्धनको बलमा प्रतिनिधिसभा र प्रदेशसभामा एक एक सिट जितेको माओवादी समग्रमा भने जिल्लामा चौंथो स्थानमा रहेको छ । माओवादीले क्षेत्र नं. १ मा १७ हजार ३३५ र क्षेत्र नं. २ मा ७ हजार ९२६ गरी कुल २५ हजार २६१ मत पाएको छ । 

नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी भने अस्तित्वकै लागि संघर्षरत देखिएको छ । समाजवादीले क्षेत्र नं. १ मा १९ सय ५५ मत पाउँदा क्षेत्र नं. २ मा ६१ सय ४३ मत पाएको छ । दुबै क्षेत्रमा गरी समाजवादीले कुल ८ हजार ९८ मत पाएको छ ।  

प्रदेशसभातर्फ पनि नेकपा एमाले पहिलो स्थानमै रहेको छ । प्रदेशसभामा कांग्रेस दोस्रोमै रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन प्रक्रियामै सहभागी नजनाएपछि माओवादी र एकीकृत समाजवादी क्रमश तेस्रो र चौंथो स्थानमा रहेका छन् । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग