जनताको सेवकको रुपमा काम गर्नुहोला–नेता बाँस्कोटा


मेचीकाली

धुलिखेल– नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवकको रुपमा काम गर्ने निर्देशन दिनु भएको छ । एमाले धुलिखेल नगर कमिटिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बाँकस्कोटाले जनप्रतिनिधीहरु लोक सेवा पास गरेको नभई जनताको मतबाट विजयी भएकोले सेवकको रुपमा काम गर्ने निर्देशन दिनु भएको हो । उहाँले देशभर एमालेका बिरुद्धमा गठबन्धन गरेर एमाले सिध्याउने खेल भएपनि त्यसमा सत्ता गठबन्धन सफल हुन नसकेको बताउनुभयो । 

उहाँले एमालेले प्रमुख तथा उपप्रमुख तथा केही स्थानीय तहमा हार व्यहोरे पनि मतको हिसाबले एमाले अघिल्लो निर्वाचनभन्दा माथि रहेको दावी गर्नुभयो । उहाँले आम नागरिकको विश्वास जित्न, र जनताको अधिकार स्थापित गर्नको लागि एमालेले निर्वाचन चाहे अनुरुप एमाले निर्वाचनमा गएको बताउनुभयो । उहाँले सिटमा एमाले कम भएपनि जनताको मनमा एमाले सँधै माथि रहेको दावी गर्नुभयो । गठबन्धनले राजनीतिको गणित बदल्न सके पनि सैद्धान्तिक राजनीतिलाई हल्लाउन नसक्ने बताउनुभयो । उहाँले एमाले छोडेर अन्य पार्टीमा गएर पछुताएका एमालेका नेता, कार्यकर्तालाई पुरानै घर फर्कन आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा धुलिखेल नगरपालिकाको दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित हुनु भएका अशोक कुमार ब्याञ्जुले राजनीतिभित्र इमान्दारिता, सत्य, निष्ठा, न्याय हुन्छ भन्ने धुलिखेल नगरबासीले प्रमाणित गरेको बताउनुभयो । उहाँले गरिब, दुःखी, कमजोर, पिछडिएको,महिला, जनजाति, दलित नै एमालेको आधार भएकोले उक्त समुदायको लागि काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफुले धुलिखेल नगरबासीको जनमतलाई सम्मान गर्दै नागरिकको समृद्धिको लागि कामहरु अघि बढाउने बताउनुभयो । सिङ्गो नगरको नेतृत्व एमालेले गर्ने बताउँदै धुलिखेललाई समृद्ध, विकसित बनाउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा धुलिखेल नगर कमिटिका अध्यक्ष दयाराम महतले नवनिर्वाचित जनप्रतिनिधिहरुले एमालेले तयार गरेको घोषणा पत्र बमोजिम समृद्ध धुलिखेल बनाउनु पर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु