आइजिपी रनिङ ट्रफी फूटबलको २८ औं संस्करण सकियो


मेचीकाली

साँगा-प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।


कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।


सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । शारीरिक तथा मानसिक बिकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले  खेलकुदले एक-अर्कामा समन्वय राखी समूहमा कार्य गर्ने सीप समेत विकास गर्ने विचार व्यक्त गर्नुभयो । 


पछिल्लो समय खेलकुद प्रतिको आकर्षण बढ्दै गएको र विभिन्न खेलका खेलाडीहरूले उल्लेखनीय कीर्तिमान बनाउन सफल भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा सहभागि खेलाडीहरूले पनि भविष्यमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको छवि उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले  नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने नेपाल प्रहरी तथा आम नागरिकका सन्ततिहरूको उज्वल भविष्य निर्माणको लागि विद्यालयमा कार्यरत शिक्षक, प्रहरी तथा अन्य कर्मचारीहरूलाई संवेदनशील र दत्तचित भएर काम गर्नुपर्ने बताउनुभयो ।


सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुशलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडिको विकास गर्न सहयोगी भूमिका खेल्दै आएको बताउनुभयो । 


उक्त अवसरमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।  


आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले लिटिल एन्जल्स स्कुल ललितपुरलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान टीम प्रथम, लिटिल एन्जल्स स्कुल टीम द्वितिय र ल्याबरोटरी स्कुल टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।


नेपाल पुलिस स्कुल साँगाका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले प्रतियोगिता सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।


प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी तथा विधालयलाई नगद र ट्रफि सहित पुरस्कृत गरिएको थियो। फाईनल खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुल धरानका साहेब मन्सुरी, म्यान अफ दि सिरिज लिटिल एन्जल्सका भार्गव सिलवाल, हाइएस्ट स्कोरर नेपाल पुलिस स्कुल धरानका रोहन गुर्मइता, बेस्ट गोल किपर लिटिल एन्जल्सका रोजिन सलजु र फेयर प्ले अवार्ड नेपाल पुलिस स्कुल साँगा टिम ए घोषित भए। 


मंसिर २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६  टीमको सहभागिता रहेको थियो । 


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु