केयूका एक हजार छ सय बिद्यार्थी दीक्षित हुँदै


मेचीकाली

धुलिखेल– काठमाडौँ विश्वविद्यालय (केयू)को २७ औँ दीक्षान्त समारोहको दोस्रो चरणमा एक हजार ६५८ विद्यार्थी दीक्षित हुने भएका छन् । केयूको २७ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आगामी शुक्रबार हुने विश्वविद्यालयले जनाएको छ । उक्त समारोहमा विश्वविद्यालयमा विभिन्न संकायमा अध्ययनरत एक हजार ६५८ बिद्यार्थी दीक्षित हुने भएका हुन् । 

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हुने समारोहमा आईआईटी हैदराबादका निर्देशक प्रा.डा. बी. एस. मूर्तिको प्रमुख आतिथ्यता रहनेछ । दोस्रो चरणको दीक्षान्त समारोहमा केयूको इतिहासमा पहिलो पटक बिएस्सी कम्प्यूटेशनल गणितमा १५ जना, एमएस्सी फिजिक्समा नौ जना, एमएस्सी पब्लिक हेल्थ(इपिडिमोलोजी) मा पाँच जना र एमएसस्सी पब्लिक हेल्थ (ग्लोबल हेल्थ) मा पाँच जनालाई पहिलो पटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । 

दीक्षित हुनेमा स्कुल अफ आर्ट्सका ३२ जना, एजुकेसनका १०० जना, इन्जिनियरिङका ३५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९९३ जना र साइन्सका २१९ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुष ६०.२८ प्रतिशत (१०३२ जना) र महिला ३९.७२ प्रतिशत (६८० जना) रहनेछन् । दीक्षित हुने विदेशी विद्यार्थीहरू भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १५७ जना रहने विश्वविद्यालयले जनाएको छ । हालसम्म काठमाडौं विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण हुनेछन् । 


प्रतिक्रिया



थप समाचारहरु