सांस्कृतिक शहर बनेपा : जहाँ हजारौं कन्या एकसाथ पुजिन्छन्


मेचीकाली

बनेपा–‘छोरालाई काखा, छोरीलाई पाखा’ यो उखान सदियौंदेखि चल्दै आएको हो । पितृसत्तात्मक मानिने नेपाली समाजमा यो उखान कतिपय अवस्थामा सही मान्न सकिन्छ । त्यसको उदाहरण खोज्न अन्त जानै पर्दैन । सरकारी विद्यालयमा छात्राको संख्या बढी र निजी विद्यालयमा छात्रको संख्या बढी भएबाटै हामी यो उखानले कतिसम्म जरा गाडेको रहेछ भन्ने सहजै अनुमान गर्न सक्छौं । 

तर, बनेपा यस्तो शहर हो जहाँ छोरा भन्दा बढी छोरीलाई महत्व दिइन्छ र यसले सांस्कृतिक रुप लिएको छ । यो अहिले वैज्ञानिक युगमा सुरु भएको होइन । १ सय २० वर्षअघि सुरु भएको यो परम्परा अझै कायमै छ र यो विस्तारित पनि हुँदै छ । 

‘कन्यापूजा’ बनेपामा वर्षैपिच्छे कृष्णजन्माष्टमीका दिन गरिन्छ । यसैले सन्देश दिएको छ, छोरा–छोरी बराबरी । नेपालमा अन्यत्र कुनै पनि स्थानमा नगरिने यो काममा बनेपालीहरु वि.सं. १९५९ देखि लाग्दै आएका छन् । बर्षैपिच्छे उही लगाव, उही रमझमका साथ । 

यसवर्षको कन्यापूजा आज शुक्रबार गरिँदैछ । अघिल्लो दुई बर्ष कोभिड १९ को महामारीका कारण कन्या पूजा प्रभावित बन्यो । यस बर्ष ८ हजारभन्दा बढी कन्या पुजिएका छन् । । कन्यालाई पुजा गरेमा कन्या पुज्नेहरु र पुजिने कन्या निरोगी हुने धार्मिक विश्वास पनि भएका कारण कन्यापूजामा हजारौंको भीड लाग्नेगर्छ । 

बनेपाको भित्रीबजारदेखि चारदोबाटोसम्मको दायावायाँ सडकमा राखेर कन्यालाई पुज्ने प्रचलन छ । कन्यालाई पुरी, सुहारी, पैसा, जेरी, विस्कुट, आदिद्वारा पुजिन्छ । स्थानीय वृद्धहरुका अनुसार बनेपाका एक नेवार समूदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए १ सय २०  वर्षअघि । उनले त्यसपछि इच्छाअनुसारको फल पाएपछि टोलबाट कन्यापूजा सुरु भएको वुढापाकाको भनाई छ । 

पहिले–पहिले रजश्वला नभएकी नेवार कन्यालाई पूजा गर्ने चलन भए पनि अहिले यसले जातजाति र समूदायको घेरा तोडेकोे छ । यसैको फलस्वरुप काभ्रेका बुडोल, भैंसेपाटी, धनेश्वर, धुलिखेल र खड्पुसम्म यो संस्कृति विस्तार भएको छ । बनेपाका नेवार समूदायका कन्यामात्र पूजिने गरेकोमा अहिले काभ्रेमात्र नभई काठमाडौं उपत्यका र आसपासका अन्य जिल्लाबाट समेत कन्याहरुलाई पुजिनका लागि ल्याइन्छ । 


प्रतिक्रिया



थप समाचारहरु