अनेमसंघ धुलिखेलको आयोजनामा बधाई तथा प्रशिक्षण सम्पन्न


मेचीकाली

धुलिखेल-अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको आयोजनामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ब्याञ्जुले स्थानीय तहको निर्वाचनमा अनेमसंघले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । आगामी निर्वाचनमा एमाले विजय भएमात्रै देश जोगिने भन्दै ब्याञ्जुले देश र जनताको पक्षमा एकजुट भएर लाग्न अनेमसंघ लाई निर्देशन पनि दिएका छन् । सत्तारुढ गठबन्धन महिला विरोधी रहेको कुरा गत निर्वाचनबाट पुष्टि भएको उनको भनाई थियो । कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेलले जनताको बहुदलिय जनवादका बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै नेतृत्व तथा अनेम संघको बारेमा अनेम संघ काभ्रेकी पुर्व अध्यक्ष कमला काफ्ले र अनेमसंघ केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य विमला शर्माले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका ५/५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम अनेमसंघ धुलिखेल नगर कमिटी अध्यक्ष सरस्वती कोंजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष श्रेष्ठले संख्यात्मक भन्दा गुणात्मक रुपमा पार्टी सदस्य निर्माण गर्नेमा जोड दिने बताएकी छन् । कार्यक्रममा नेकपा एमाले काभ्रेका सह–सचिव राजकुमार सापकोटा, अनेम संघ जिल्ला अध्यक्ष विमला सापकोटा, नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत लगायतले समसामयिक विषयमा प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया



थप समाचारहरु