बेथानचोकमा १० शैयाको अस्पताल निर्माण हुने


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको  एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ ।

बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्नु हुँदै अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताउनु भयो । गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उहाँले अस्पतालसम्म पुग्ने पक्की बाटो र खानेपानीका लागि गाउँपालिकाले पहल गर्ने बताउनु भयो । अस्पताल समयमै निर्माण गर्न निर्माण पक्षसँग आग्रह गर्दै उहाँले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरुले पहल गर्ने बाचा गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले अस्पतालको समयमै निर्माण सम्पन्न गराउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । ग्रामिण भेगमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उहाँले अस्पताललार्य सुविधासम्पन्न गराउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय अनुदानबाटे देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय स्तरको इ–बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ८ करोड ९ लाख ५३ हजार ५ सय ४२ रुपैया ६९ पैसा (भ्याट सहित) मा ब्राइट मल्टी कन्ष्ट्रक्शनले निर्माण जिम्मा पाएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो । एपी इन्जिनियरिङ डिजाइन सोलुशन प्रा.लि.ले भवनको डिजाइन गरेको बताउनु हुँदै प्रशासकीय अधिकृत भण्डारीले अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने पनि बताउनु भयो । उहाँले अस्पताल ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष सबैमा आभार व्यक्त गर्नु भयो ।

ब्राइट मल्टी कन्ष्ट्रक्शन प्रा.लि.का तर्फबाट दिलिप गौतमले गुणस्तरीय निर्माणमार्फत तोकिएकै समयमा निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले अस्पताललाई समुदायको नमूना अस्पतालको रुपमा लैजाने बताउनु भयो । भरत अधिकारी, कृष्ण अधिकारी र चन्द्रमणि अधिकारीको स्वस्तिबाचनसँगै शुरु भएको शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का पूर्व अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं. ४ का पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत विश्वनाथ दाहालले गर्नुभएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु