बँदेल र वाँदरबाट पीडित काभ्रेली किसानको पक्षमा संसदमा उठ्यो आवाज


मेचीकाली

काठमाडौं–बँदेल र बाँदरका कारण पीडामा परेका काभ्रेली किसानको पक्षमा संसदमा आवाज उठेको छ । पूर्वमन्त्रीसमेत रहेका काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुलप्रसाद बास्कोटाले आज प्रतिनिधिसभाको बैठकमा सरकारले किसानको पक्षमा केही गर्न नसकेको भन्दै किसानलाई क्षतिपूर्ति दिन माग गरे । 

बँदेल र बाँदरका कारण किसानका बालीनाली नष्ट भएको भन्दै बास्कोटाले राज्यको कुनै पनि निकायबाट किसानले क्षतिपूर्ति पाउन नसकेको बताए । ‘सिंगो काभ्रे जिल्ला अहिले वाँदर र बँदेलले हैरान बनाएको छ, दशौं हजार रोपनीमा किसानले लगाएको अन्नबाली ध्वस्त बनाएको छ’ बाँस्कोटाले भने, ‘स्थानीय तहमा भन्यो माथिबाट बजेट आउँदैन, प्रदेशमा कुरा गर्दा संघीय सरकारबाट बजेट पाइएन भन्छन्, संघीय सरकारले विभिन्न सन्धी सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिएन भन्ने कुरा आउँछ ।’ 

किसानलाई पेन्सन दिन्छु भनेर घोषणा गरेको सरकारले डेढ महिना वितिसक्दा पेन्सन त परै जाओस् पीडित किसानलाई क्षतिपूर्तिका लागि पहलसमेत नगरेको बाँस्कोटाले बताए । बँदेल र वाँदरको आतंक फैलिएको ठाउँमा बैकल्पिक खेतीको रुपमा फलफूल या अन्य अन्नबालीको खेती के गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानुपर्ने बताउँदै बास्कोटाले काभ्रेली जनता पनि असुरक्षित भइसकेको बताए । 

सांसद बाँस्कोटाले कोटेश्वरपूर्व जाने लामो दुरीको सवारीसानका लागि काउन्टर र बसस्टपको व्यवस्थापन गर्न पनि माग गरे । दशैं आउँदै गरेको र अब काठमाडौंपूर्व अरनिको र विपी राजमार्ग हुँदै घर फर्कने जनतालाई गाडी चढ्न निकै समस्या बेहोर्नुपर्ने बताउँदै बाँस्कोटाले जडिबुटीमा रहेको सन्चो कम्पनीको जग्गा, सडक विभागको जग्गामा कम्तीमा १२ घण्टाका लागि गाडीहरुको पार्किङ र काउन्टरको व्यवस्थापन गर्न माग गरे । यात्रुहरुलाई सुरक्षितरुपमा चढ्ने र ओराल्ने ठाउँको तत्काल व्यवस्थापन गर्न सम्वन्धीत मन्त्रालयको ध्यानाकर्षण बाँस्कोटाले गराएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु