केयुमा हाइड्रोजन उत्पादन : डिजेलको विकल्प बन्न सक्छ


मेचीकाली

काभ्रे– नेपालमा हाइड्रोजनको उत्पादन गरी यातायातको संसाधनमा प्रयोग गर्ने काठमाडौँ विश्वविद्यालय (केयू) को सपना साकार भएको छ । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोग सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूमा आईतबारबाट हाइड्रोजन उत्पादन सुरु भएपछि विश्वविद्यालयको सपना पुरा हुने भएको हो । 

“दुई वर्षदेखि नेपालमा हाइड्रोजन उत्पादन र उत्पादन भएको हाइड्रोजनलाई यातायातको संसाधनमा प्रयोग गर्नुपर्छ भन्ने लक्ष्य लिएर हिँडेका थियौँ, त्यो कुरा पुरा भएको छ” केयू ग्रिन हाइड्रोजन ल्यावका प्रमुख तथा एसोसियट प्राध्यापक डा. विराज सिंह थापाले बताए । उनले नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको बताए । नेपालमा हाइड्रोजनलाई बैकल्पिक इन्धनको रुपमा प्रयोग गर्नका लागि हाइड्रोजन ल्याव, हाइड्रोजन सम्बन्धी नीति, निमार्ण कसरी गर्न सकिन्छ भनेर सुझाव दिन तथा नेपालको सडकमा हाइड्रोजनबाट गाडी कुदाउन सकिन्छ भनेर देखाउनका लागि निगम र केयूबीच दुई वर्षअघि सम्झौता भएको थियो । 

निगमको सहयोगमा कात्तिक महिनामा कोरियाबाट हुण्डाइको नेक्सो कार भित्राउनुको साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको बताए । निगमले केयूलाई पाँच करोड रुपियाँ सहयोग उपलब्ध गराएको हो । 

“कोरियन प्राविधिकको सहयोगमा रिफ्युलिङ सेन्टर स्थापना गरी आईतबारबाट कोरियाबाट ल्याइएको नेक्सो कारमा हाइड्रोजन फिल गर्ने (भर्ने) काम सुरु गरेका छौँ” डा. थापाले भने । “हाइड्रोजन रिफिल सेन्टरलाई धाराको पानी र बिजुली दिएपछि पानीलाई प्रशोधन गर्ने, प्रशोधिन पानीबाट हाइड्रोजन उत्पादन गर्ने, उत्पादित हाइड्रोजनलाई ड्राइङ, प्युरिफाइङ गरी, लो प्रेसर ट्याङ्कमा भण्डार गर्ने र लो प्रेसर ट्याङ्कमा रहेको हाइड्रेजनलाई हाईप्रेसर ट्याङ्कको माध्यबाट कारमा फिलm गर्ने काम गरिन्छ” थापाले उल्लेख गरे । अध्ययन गर्ने क्रममा प्रयोगात्मक अभ्यासको लागि हाइड्रोजन उत्पादन गरिएपनि यातायात सञ्चालन गर्नका लागि हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको उनले बताएका छन् ।

काठमाडौँ विश्वविद्यालयले अध्ययन तथा अनुसन्धान (परीक्षण) का लागि विश्वविद्यालय परिसरमा स्थापना गरेको हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औषत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ । विश्वव्यापी रुपमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न औषत पाँच अमेरिकी डलर खर्च हुने तथ्याङ्कले देखाएको छ । केयूमा स्थापित हाइड्रोजन स्टेशनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खर्च हुने हाइड्रोजन ल्यावका प्रमुख डा. थापाले बताए । केयूमा भित्राइएको हुण्डाइको नेक्सो कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र उक्त हाइड्रोजनबाट ६५० किलोमिटर दुरीको यात्रा गर्न सकिने छ ।  निगमले उपलब्ध गराएको सहयोग रकमबाट केयूले ३३ हजार अमेरिकी डलरको कार, एक करोड ३० लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको हो । 

केयूमा भित्राइएको हाइड्रोजन कारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा उद्घाटन गराउने, नेपालका विभिन्न स्थानमा हाइड्रोजन कारको प्रदर्शनी गर्ने  विश्वविद्यालयको तयारी रहेको छ । केयूले ३०–३५ वटा हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्य समेत अघि बढाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु