बसमा विद्यार्थी छुट : कागजमा छ, कार्यान्वयनमा अटेर


मेचीकाली

काभ्रे–सरकारले सार्वजनिक यातायातमा विद्यार्थीका लागि ४५ प्रतिशत छुटको व्यवस्था गरेको छ । विद्यार्थी आन्दोलनको प्रतिफलस्वरुप विद्यार्थीहरुले पाएको यो सहुलियत पाउन भने काभ्रेमा मुस्किल देखिएको छ । 

काभ्रे जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका सिन्धु हेलम्बु यातायात प्रालि, जुगल यातायात, पूर्व अरनिको यातायात प्रालि र गणेश हिमाल तराई यातायात सेवा प्रालिले सरकारले उपलब्ध गराएको बिद्यार्थी सहुलियत नदिएको पाइएको छ । 

काभ्रेको व्यापारिक एवं शैक्षिक केन्द्र बनेपाबाट जिल्लाको विभिन्न ग्रामीण तथा शाखा सडकमा  सञ्चालन हुने पूर्व अरनिको, जुगल, सिन्धु हेलम्बुको साथै गणेश हिमाल तराई यातायातका सवारी साधनले बसमा यात्रा गर्ने बिद्यार्थीहरुलाई सरकारले उपलब्ध गराउँदै आएको ४५ प्रतिशत भाडा छुट नदिएको बिद्यार्थीले गुनासो गरेका छन् । 

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर, पाँचखाल, कोशिपारी क्षेत्रमा पूर्व अरनिको र सिन्धु हेलम्बु यातायातका पुराना सवारी साधन चल्ने गरेका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा बिद्यार्थी छुट माग्दा भ्याली (उपत्यका) मा लागु हुने र ग्रामीण क्षेत्रमा लागु नहुने भन्दै उल्टै यात्रुलाई हप्काउने काम गर्ने गरेको यात्रुको गुनासो छ । “हेलम्बु र अरनिकोमा यात्रा गर्दा हामीले बिद्यार्थी कार्ड देखाउँदा यो बिद्यार्थी छुट भ्यालीमा मात्रै लागु हुने भएकोले ग्रामीण क्षेत्रमा बिद्यार्थी कार्डको छुट नहुने भनेर छुट दिन मान्दैनन” काभ्रेपलाञ्चोकको मण्डनदेउपुरकी राधिका चौलागाँईले गुनासो गर्नुभयो । उहाँले गाउँमा चल्ने सवारी साधनमा छुट माग्दा बसका सहचालकले छुट दिन नमान्ने र विवाद गरेको खण्डमा थोरै मात्रै छुट दिने गरेको बताउनुभयो ।

जिल्लाको बनेपा, धुलिखेल, पनौतीलगायतका क्षेत्रमा सञ्चालन हुने काभ्रे बस व्यवसायी, काभ्रे पूण्यवती यातायात प्रालिले भने बिद्यार्थी कार्डको छुट दिने गरेको बिद्यार्थीहरुले बताएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन हुने विभिन्न यातायात कम्पनीका सवारी साधनले बिद्यार्थी छुट नदिएको भन्दै असार दोस्रो साता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु)  काभ्रेपलाञ्चोकले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएको थियो । अनेरास्ववियुले बिद्यार्थी कार्डमा छुट नदिने यातायात कम्पनी र सवारी साधनलाई सरकारले दिएको बिद्यार्थी छुट कार्यान्वयन गराउन र कार्यान्वयन नगर्ने सवारी र कम्पनीलाई कारवाहिको दायरामा ल्याउन माग गरेका थिए । अनेरास्ववियु काभ्रेपलाञ्चोकका अध्यक्ष मिलनकुमार गौतमले जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने पूर्व अरनिको, सिन्धु हेलम्बु, जुगल यातायात, गणेश हिमाल तराई यातायातका सवारी साधनले बिद्यार्थी छुट नदिएको बताउनुभयो ।  

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बिद्यार्थी कार्डको छुट नदिने सवारी साधनको विषयमा बिद्यार्थी उजुरी दिएको खण्डमा तत्काल कारवाहिको दायरामा ल्याउने बताउनुभयो । उहाँले केहि समयअघि बिद्यार्थी सङ्गठनहरुले यात्रुवहाक बसहरुले बिद्यार्थी कार्डमा ४५ प्रतिशत छुट नदिएको भन्दै ध्यानाकर्षण गराएपछि यतायात कम्पनीहरुलाई पत्रमार्फत बिद्यार्थी कार्डको छुट दिन निर्देशन दिइएको बताउनुभयो । उहाँले साउनको पहिलो साता जिल्लामा रहेका यातायात कम्पनी तथा सरोकारवालाहरुलाई राखेर बिद्यार्थी कार्डको छुटको विषयमा छलफल गरिने बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने