२०७० को त्यो चुनाव : शिव हुमागाईंले हारेपछि पार्टीबाटै निकालिएका थिए मधु आचार्य


मेचीकाली

बनेपा–असोज २३ गते उम्मेदवारी दर्ताको अघिल्लो रातसम्म नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नं. २ मा मधु आचार्यले टिकट पाउने लगभग ‘कन्फर्म’ मानिएको थियो । 

तर, असोज २२ गते रातारात आचार्यको टिकट खोसियो र शिवप्रसाद हुमागाईंले टिकट ल्याए । हाल कांग्रेसका केन्द्रीय सदस्य रहेका आचार्यमाथि अन्याय गर्दै आचार्यकै क्षेत्रमा चुनाव लड्न आएका हुमागाईंले २०७० सालको चुनावलगत्तै आचार्यमाथि कार्बाही गरेको माइन्युट फेला परेको छ ।

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा हुमागाईं साविकको काभ्रे क्षेत्र नं. २ बाट निर्वाचनमा उम्मेदवार बनेका थिए । नेकपा एमालेका उम्मेदवार रामहरि सुवेदीसँग पराजित भएपछि प्रतिशोध साँध्दै नेता मधु आचार्यसहितका नेता कार्यकर्तामाथि कार्बाही गरेका थिए । 

पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तरघात गरी संविधानसभाको निर्वाचनमा पराजित गराउने काम गरेको आरोपमा त्यसबेला हुमागाईंले ५ जिल्लास्तरीय नेतामाथि कारबाही गरेका थिए । हुमागाईं उक्त समयमा नेपाली कांग्रेसको जिल्ला सभापति थिए । २०७० मंसिर १७ गते बसेको कांग्रेस जिल्ला समितिको बैठकबाट कारबाहीमा पर्नेमा पूर्व जिल्ला सभापति मधु आचार्य, पूर्व सहसभापति तीर्थ पसखल, पूर्व सभासद कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शंकर मिजार थिए । उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कार्बाही गरिएको थियो ।

‘निर्वाचनमा काभ्रे २ मा कांग्रेस कुनै पनि हालतमा पराजित हुने क्षेत्र नहुँदानहुँदै पनि पार्टीका उम्मेदवारलाई पार्टीभित्रैका अवसरवादी र षड्यन्त्रकारीले अन्तरघात गरी पराजित गराएको,’ त्यसबेला जिल्ला समितिको निर्णय सार्वजनिक गर्दै तत्कालिन सभापति हुमागाईंले भनेका थिए ‘अन्तरघात गरेकाहरूलाई कारबाही गर्न प्रमाणसहित मातहतका समितिबाट सिफारिस गरिएपछि जिल्ला समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।’ कार्बाही कार्यान्वयनका लागि दबाब दिन हुमागाईं नेतृत्वको टोली कालो ब्यानरसहित कांग्रेस मुख्यालय सानेपामा धर्ना दिनसमेत पुगेको थियो । 

सोही बैठकले ६ जना क्रियाशिल सदस्यको सदस्यता खारेज गरी नविकरण नगर्ने निर्णय गरेको थियो । त्यसरी क्रियाशिल सदस्य खारेजीमा पर्नेहरुमा शंखुपाटीचौरका माधव थापा र दिपेन्द्र प्याकुरेल, साविक पनौती १३ का मोहन केसी, साविक पनौती ४ का सुभाषचन्द्र थापा, साविक पनौती १२ की जानुका भट्टराई र साविक मिल्चे ६ का गणेशवहादुर घ्यावा रहेका थिए ।

हुमागाईं नेतृत्वको जिल्ला समितिले कार्बाही गरे पनि पछि केन्द्रीय समितिले त्यसलाई उल्ट्याएको थियो । कांग्रेस काभ्रेमा शालिन र बैचारिक नेता मानिने आचार्य र हुमागाईंको अन्तरसंघर्ष लामो समयदेखि रहँदै आएको छ । आफू शक्तिमा रहँदा फरक मत राख्ने नेता कार्यकर्तालाई कार्बाही गर्ने र आफ्नो पक्षकालाई मात्रै काखी च्याप्ने गरेको भन्दै हुमागाईंको आलोचना हुँदै आएको छ । अहिले स्वभाविकरुपमा मधु आचार्यको ‘हक’मा रहेको र उनैले पाउने भनिएको टिकटसमेत क्षेत्रसमेत परिवर्तन गर्दै शक्ति प्रयोग गरेर हुमागाईंले खोसेको भन्दै आचार्य पक्षका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

कांग्रेसमा चुनावको समयमा आफूइतरका नेता कार्यकर्तामाथि अन्तर्घातको आरोप लगाउँदै कार्बाही गर्ने र पछि अर्को चुनाव आएपछि फुकुवा गर्ने चलन नौलो होइन । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई असहयोग गरेको, बागी उम्मेदवारी दिएको लगायतका आरोपमा कार्बाहीमा परेका नेताहरुलाई कार्बाही फुकुवा गर्दै पूर्ववत जिम्मेवारीमा फर्काइसकिएको छ । 

गणेशमाथि पनि अन्याय

अहिले कांग्रेस केन्द्रीय सदस्य रहेका गणेश लामा २०७० को चुनावमा फोरम लोकतान्त्रिकबाट उठेका थिए । ामा निकट रहेर आफूलाई हराउन भूमिका खेलेको भन्दै पनौती ५ का त्यतिबेलका केही कांग्रेसी कार्यकर्तालाई हुमागाईंले अहिले पनि इख राख्दै आएको बताइन्छ । उनकै रवैयाका कारण पनौतीमा विपी बिचार समाजसमेत गठन भयो । त्यसमा सहभागीलाई हुमागाईंले अझै विश्वास गर्न सकेका छैनन् । २०७० को पराजयको प्रमुख कारणको रुपमा गणेश लामालाई लिएकै कारण अहिले लामाको क्षेत्रमा तीर्थ लामालाई टिकट दिलाउन भूमिका खेलेको भन्दै गणेशनिकट नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

हेर्नुस् मधु आचार्य लगायतमाथि गरिएको कार्बाहीको माइन्युट


प्रतिक्रिया



थप समाचारहरु