नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण


मेचीकाली

डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । 

बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो । उक्त वडाका ९४ जना किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएकोमा सोमबार ४५ जना किसानलाई वितरण गरिएको र अर्को साता बाँकी किसानलाई वितरण गरिनेछ । बाख्राको लागत प्रतिवटा १४ हजार लागत रहेकोमा किसानले एक हजार रुपैयाँ बेहोरेका छन् भने बाँकी रकमको भुक्तानी नमोबुद्ध नगरपालिकामार्फत प्रदेश सरकारले गरेको छ । 

सोमबार वडा नं ८ को कार्यालयमा आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले किसानहरुलाई बाख्रा वितरण गरेका थिए । नगर प्रमुख लामाले किसानहरुको आर्थिक अवस्था माथि उकास्नका लागि बाख्रा वितरण कार्यक्रमका लागि बजेट व्यवस्थापन गरेकोमा उक्त क्षेत्रका प्रदेशसभा सदस्य एवं तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाप्रति आभार प्रकट गरे । नमोबुद्ध नगरपालिकाले नगरबासीको जीवनस्तर माथि उकास्ने खालका योजना नगरबासीकै सहभागितामा र नगरवासीको आवश्यकताको आधारमा ल्याउने प्रतिवद्धता पनि लामाले जनाए । उनले अनुदानको सही सदुपयोग गर्न पनि किसानहरुलाई आग्रह गरेका थिए । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध नगरपालिकामा विगतका बर्षमा पनि उन्नत जातका बाख्रा, पाडी वितरण गरिनुका साथै अन्य कृषि औजारहरु वितरण गरेर किसानको आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । यसैगरी वडा नं. ८ का वडा अध्यक्ष शेरवहादुर तामाङले वडा समितिले वडाभित्रका गरिब, विपन्न, एकल महिला लगायतलाई प्राथमिकताका आधारमा बाख्रा वितरण गरेको र आगामी दिनमा पनि विभिन्न स्रोतमार्फत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । 

किसानलाई वितरण गरिएका सबै बाख्राको बिमा गरिएको नमोबुद्ध नगरपालिका कृषि तथा पशु शाखा प्रमुख चिरञ्जिवी शर्माले जानकारी दिएका छन् । 

 


प्रतिक्रिया



थप समाचारहरु