पलाञ्चोक–धार्मिकस्थल पलाञ्चोक मन्दिर क्षेत्रमा पिपिआर रोग देखिएको छ । मन्दिर क्षेत्रमा छाडिएका साँढे बोकामा पिपिआर देखिएको हो ।
साँढे बोकामा पिपिआर देखिएपछि वडा कार्यालयले मन्दिरमा साँढे बोका छाड्न रोक लगाएको छ । वडा अध्यक्ष रामकाजी श्रेष्ठले जारी गरेको सूचनामा मन्दिरमा छाडिएका बोकाहरूमा गम्भीर प्रकृतिको संक्रामक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाइएको उल्लेख गरिएको छ । मन्दिर क्षेत्रमा उक्त रोगका कारण १० दिनमा १२ वटा बोका मरिसकेको बताइएको छ । रोग फैलन नदिन १३ वटा बोकालाई भ्याक्सिन लगाइएको छ ।
वडा कार्यालयबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरुले साँढे बोका छाडा रुपमा छोड्ने प्रचलन रहेकोले देशका विभिन्न क्षेत्रबाट बोकाहरु ल्याइ छाडिएको साँडे बोकाहरुमा पि.पि.आर लगायत अन्य सरुवा रोग देखापरेको हुँदा स्थानीय अन्य घरपालुवा बाख्राहरुमा पनि रोग सर्ने जोखिम रहेको कारण छाडा रुपमा साँडे बोका छोड्ने कार्य रोक्नको लागी सम्बन्धित सबैलाई यो सुचना प्रकाशित गरिन्छ ।’
पलाञ्चोक मन्दिर वरीपरिका पशुधनीहरुको बाख्रामा पनि पि.पि.आरको लक्षण देखा परेमा नगरपालिकाको पशुपन्छी शाखा वा वडा कार्यालमा सम्पर्क गर्न वडा अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।
पिपिआर के हो ?
पिपिआर रोग र यसको उत्पत्ति
पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रम हरु संचालन गर्दै आइरहेको छ । प्रायजसो कृषकहरुलको आर्थिक आयआर्जनको पाटो कृषि र कृषि मध्ये पनि पशुपालन क्षेत्र भएको हुँदा भेडाबाख्रा पालन गरिने भएकोले आर्थिक दृष्टिकोणबाट पनि यो रोगलाई बिशेष मानिन्छ ।
कसरी चिन्ने पिपिआर ?
यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा र्याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान र्याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।
पिपिआरबाट कसरी बचाउने ?
पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।
रोकथाम तथा नियन्त्रण
रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।