भक्तपुरको गुण्डुमा पलाञ्चोक भगवती मन्दिर स्थापना


मेचीकाली

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु कार्कीगाउँमा पलाञ्चोक भगवती मन्दिरको स्थापना गरिएको छ । नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको एक कार्यक्रमकाबीच पूर्व उद्योगमन्त्री महेश बस्नेत, निवर्तमान प्रदेश सांसद शशीजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासु थापाले मन्दिरको उद्घाटन गर्नुभएको हो । गुण्ड्ुलाई धार्मिक पर्यटकिय स्थल तथा भक्तपुरलगायतका आसपासका भक्तजनका लागि पलाञ्चोक भगवतीको दर्शनका लागि काभ्रेपलाञ्चोकसम्म जानुपर्ने बाध्यतालाई सहज गर्न गुण्डुमा नै भगवतीको मन्दिर स्थापना गरिएको लिखानारायण मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष गोविन्दकुमार कार्कीले बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको २९ लाख तथा स्थानीय समाजसेवी, स्थानीयबासी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा मन्दिर निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले गुण्डुलाई धार्मिक पर्यटकिय दृष्टिकोणले विकास गर्नका लागि लिखानारायण र पलाञ्चोक भगवती मन्दिरले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले समितिका अध्यक्ष कार्कीले नेपाल प्रहरीबाट सेवानिवृत भएसँगै गाउँमा केही सामाजिक कामहरु गर्नुपर्छ भन्ने अभिप्रायले मन्दिर निर्माण र गाउँको विकासमा सक्रिय हुनु भएको बताउनुभयो । उहाँले पछिल्लो समय सरकार परिवर्तन भएसँगै भक्तपुर तथा गुण्डु क्षेत्रका सडकलगायतका विभिन्न योजनाको रकम कटौती भएको बताउनुभयो । उहाँले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दावी गर्दै त्यसपछि एमालेले अघि सारेका र वर्तमान सरकारले बजेट काटेका योजनाहरुको पुनः सञ्चालन हुने बताउनुभयो । सोमबार लिखानारायण मन्दिर परिसरमा पलाञ्चोक भगवती, दश अवतार नारायण, देवेश्वर महादेव, गणेश, बङ्गलामुखी, सरस्वती, लक्ष्मी, राधाकृष्ण, काल भैरव, गुण्डु भिमसेनको मन्दिर उद्घाटन गरिएको हो । 

मन्दिर निर्माणका लागि सूर्यविनायक नगरपालिकाको २९ लाख तथा स्थानीयबासी, विभिन्न सङ्घसंस्थाको गरि करिब ८२ लाख रुपियाँ रकम सङ्कलन भएको छ । मन्दिर निर्माणको लागि हालसम्म एक करोड ९७ हजार रुपियाँ खर्च भएको समितिले जनाएको छ । मन्दिर निर्माणका लागि सङ्कलन भएको भन्दा बढी रकम खर्च भएकोले समितिलाई मन्दिर निर्माण वापत करिब १९ लाख रुपियाँ ऋण समेत लागेको समितिले जनाएको छ । कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान समेत गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग