किंवदन्तीको गोसाइँकुण्डसँग यात्रीको साइनो


मेचीकाली

-होमप्रसाद चौंलागाँईं

हुन त म जन्मको हिसाबले रामेछापको पहाडी गाउँ, सुनापाति गाउँपालिका (तत्कालिन गुन्सी भदौरे गा.वि.स.) मा जन्मेको मान्छे । हुर्काइ, वढाई, पढाई र भोगाइको कुरा गर्नु पर्दा मेरो आधाआधी जीवनको सर्वस्व भनेको काभ्रेपलाञ्चोक स्थित मण्डनदेउपुर नगरपालिका हो । काभ्रेपलाञ्चोक एक हिसाबले कुरा गर्दा रसुवाबाट टाढाको जिल्लापनि हैन । काम र ब्यस्त जीवनको सिलशिलामा वर्षैंदेखि गोसाइकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा बनिरहेको थियो । आघौं जसरीपनि जान्छु भन्यो जाने समय आएपछि एउटा अड्चन, अर्को साल फेरी जान्छु भन्ठान्यो उस्तै अड्चन । त्यतिमात्र नभएर कहिले पठन पाठनको सन्दर्भ, कहिले महाभूकम्पको पीडा त कहिले  कोरोना कहरका कारण सोचेको कुरा पूरा गर्न सकिरहेको थिएन । साँच्चै जान खोज्दा खाने मुखलाई जुँगाले छेक्दैन भने झैं भदौ १२ गते विहान ७ ः ३० बजे काभ्रेपलाञ्चोकको मण्डनदेउपुर कुन्तावेसीबाट प्रारम्भ भएको हेलम्बु बसको यात्रा ११ ः३० बजेहुँदा माछापोखरी पुगेको थियो । यात्राकै क्रममा गल्छी, महादेवफाँट, देवीघाट, बट्टार, ढुंगे र नुवाकोटको सदरमुकाम विदुर, उत्तरगया वेत्रावतीहुँदै हाम्रो बस घुमाउरो बाटोबाट उकाली चढ्यो । 

पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते । देवताहरू भगवान् विष्णुको शरणमा पुगेपछि विष्णु भगवान्को सल्लाह अनुसार दानव र देवता मिलेर समुद्र मन्थन गरे । समुद्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याइ समुद्र मन्थन गर्न सहमत गराए ।

समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्किए । यसै क्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मूर्च्छा परे भने कोही मर्न लागे । जसलाई शान्त नपारे यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपति महादेवले उक्त विष स्वयम् आफैँले सेवन गरे । विषले गर्दा उनको घाँटी नीलो भएकाले महादेवलाई नीलकण्ठ पनि भनियो । विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भयो र त्यही त्रिशूलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान भएको विश्वास गरिँदै आएको छ ।

समुद्री सतहदेखि ४३८० मिटरको उचाइमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीर्थस्थल गोसाइँकुण्ड गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । काठमाडौं–धुन्चे, सिन्धुपाल्चोकको मेलम्ची–कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल–कुटुमसाङ र नुवाकोटको घ्याङफेदी–यार्सा हुँदै विभिन्न मार्गमार्फत गोसाइँकुण्ड पुग्न सकिन्छ । उकालै भएपनि छिटो हुने भएकोले काठमाडौं–धुन्चेहुँदै गोसाइँकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो ।  

गन्तब्यको त्यहि मार्गलाई पछ्याउँदै हामी हिँड्यौँ, हिँडिं रह्यौँ । बाटो कतै सम्म, कतै उकालो, कतै ओरालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरी गोसाइँकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो ।

 १० जनाको टोली भएको हाम्रो समूह २०८० दभौको १२ गते गोसाइँकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने समानहरू न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केही अदुवा–लसुन, कागती तथा जोलामाइड २५० mन लगायत केहि औषधीहरु बोकेर काठमाडौंबाट प्रस्थान गरेको थियोे । 

रसुवा जिल्ला, बाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको पहाटी जिल्ला हो । यसको सदरमुकाम धुन्चे आफैं गाउँपालिका हो । धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ रहेछ । जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिने रहेछ ।

स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिँदो रहेछ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामाकरण रसुवा नै रहन पुगेछ ।

धुन्चेको एभरेष्ट होटलको बासपछि १३ गते विहान हामी गन्तव्यतिर लागेका थियौं । भोलिपल्ट बिहान चिया नास्ता गरेपछि हाम्रो यात्रा फेरि सुरु भयो । प्रहरी चेकिङमा कार्ड चेकजाँच गरियो । हिँड्नुपर्ने उकालो बाटो अझै बाँकी थियो । देउराली–ढिस्सा–चन्दनवारि–चोलाङपाटी–लौरीबिनायक–बुद्ध मन्दिर, त्यसपछि सिधा बाटो देखाइएको थियो । 

कस्तो होला घट्टेखोला, कति माथी होला खेन्दी, कस्तो होला देउराली, कति माथी होला ढिम्सा, कहिले पुग्नु चन्दनबारी, चोलाङपाटी, किन भनेको होला लौरी विनायक, कस्तो छ बुद्ध मन्दिर र कति बेला पुगिएला गोसाइकुण्ड, मनमनै गम्यौं । दिनभरमा त कसो नपुगिएला ? ढिस्सा–चन्दनवारिहुँदै चोलाङपाटी पुग्दा कुहिरोले हामीलाई ढाकिसकेको थियो ।  हाम्रो यात्रा नजिकैबाट बगिरहेको त्रिशुलीमा अस्थायी पुल पार गरी पूर्वतर्फ मोडियो । वर्षको याम भएरपनि त्रिशुली मजैसङ्ग छङ्छङि रहेका थियो ।  त्यहाँबाट केही पर पुगेपछि महादेवको सानो मूर्तिसहितको पोखरी रहेछ । त्यसलाई मिनी गोसाइँकुण्ड भनिँदो रहेछ । यो ठाउँ गोसाइँकुण्ड पुग्न नसक्नेका लागि त्यहीँ नुहाएर मनको सान्त्वना लिने ठाउँ रहेछ ।

गोसाइँकुण्ड मेला भर्ने विषेश समय भएर होला, होटलमा खाना बस्नको लागि केहि महङ्गै रहेको पाइयो । त्यो त अझ फर्कंदा थाहा लाग्यो कि उकालो चढ्दा २०० सम्ममा बेचेको फ्रुटी फर्कंदा त ३० रुपैयाँ भएछ । पानी किन्न खोज्यो, रु. २ सए । चिया नै खऊ न त भन्यो, १ सए । यो अलिक महङ्गो नै लाग्यो । हुन त निश्चित समयमा त्योपनि निकुञ्जभित्र थापेको पर्थु र झ्याउली सहितको पसल भएरपनि होला !

भदौ महिनाको बिचोबिच भएरपनि न झरी न बादल, न जाडो, न त जुका कुनै डर र पीडा ब्यहोर्न परेन । गोसाइकुण्डको यात्रालाई तन्काउने क्रममा १०ः३० मा देउराली पुगेका थियौं जुन समुद्र सतहबाट २६५० मिटर उचाइमा अवस्थित थियो । थकाइ र उकालीको स्याँस्या र फ्याँफ्याँले लखतरान थियौं । विश्रामपछि साथमा लगेका ड्राइफुडहरू झिक्यौं, भुटेको मकैं, काजु, मिश्री र गुलीया र चाँडो तागत दिने चकलेटहरुले बेला बेलामा मर्न लागेको पूmर्तीलाई वढाई दिन्थ्यो । चिसो पानीका साथ भोक, तिर्खा र थकाइ सबै मेट्यौं । उकालो लाग्न शुरु गरेपछि आर्मी क्याम्पहरु र स्वास्थ्य शिविरहरु देखिन थाले । तीर्थयात्रीलाई आइपर्ने समस्या र सावधानीका उपाय अपनाउन सुझाव दिँदै केही जवान भने तातोपानी खान आग्रह गर्दै थिए, कोही प्रेसर जाँच्दै थिए । 

देउरालीको सामान्य बसाइ र दृश्यावलोकनपछि हाम्रो यात्रा निरन्तर अगाडी वढिरह्यो । सामान्य १ः०० बजेको हुँदो हो, हामी ढिम्सा पुग्न सफल भयौं । त्यहाँको एउटा होटलमा खाना भनियो । तयारै रैछ, खाइयोपनि । केहि बेर थकाई मारेर पुनः यात्रालाई निरन्तरता दिइयो । अलिक अगाडी के वढिएको थियो । फपर तथा कोदोको ढिंडो यहाँ पाइन्छ लेखेको होटल देख्न बिस्मात लाग्यो । बिस्मातबाट निरुत्साहित बनिएन । फर्कंदा यहिं आएर फारको ढिंडो खाने अठोट बनाइयो । 

चन्दनवारीलाई स्थानीय भाषामा सिङ्गोम्पा पनि भनिँदो रहेछ । त्यो चिज उत्पादनको लागि प्रसिद्ध रहेछ । त्यहाँ त्यस्तै पाँच सात वटा राम्रा होटलहरू पनि देखियो । वातावरण मन छुने खालको थियो । केही पर डाँडामाथि निकुञ्ज सुरक्षार्थ आर्मी पोष्ट पनि रहेछ । चन्दनवारी समुद्र सतहबाट ३३३० मिटर उचाइमा अवस्थित रहेछ । सफा टकटकाउँदो सेता कपडाजस्ता बादलका स–साना टुक्रा कतै पर चुलिँदो पहाडसँगै अंकमाल गरिरहेका जस्ता देखिन्थे । पानी नपरेकोले हल्का कुहिरोसंग मधुरो घामको रंग उस्तै प्राकृतिक थियो । खुला आकाशमुनि सुर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभूति भइरहेको थियो । 

निःस्वार्थ भावमा लीन भएपछि उकाली र ओरालीका अप्ठ्याराहरू पनि हवाइजहाजका यात्राभन्दा सरल र सहज लाग्दो रहेछ । मानसिक थकाई मात्र जीवनको सबैभन्दा ठूलो थकाइ रहेछ भन्ने लाग्यो । केही उकालो उक्लिएपछि अलि सजिलो बाटोले मोड लियो । करिब आधा घण्टाको हिँडाइ तेर्सो भएकोले थकाइमा केही राहत मिल्यो । तेर्सो बाटो सकिएलगत्तै चोलांगपाटी (३६५४ मि उचाइ) स्थित एउटा होटल अगाडिको खुला चउरमा राखिएको काठका खटियाहरूमा बस्यौंैं र कुहिरो र बादलले पाइला सार्दै गरेको आकाशमुनि अट्टहासको थकाइ मा¥यो । त्यहाँ आफैंले तयार गरेको चटपटे खाएर केहि समयकोे विश्रामपछि ४ः३० बजेतिर लौरीविनायकको उकालो शुरु हुने ठाउँमा पुगियो । 

भोलीपल्ट विहान सबेरैलाई मात्र जर्नपूर्णीमाको शुभ मुहूर्त पर्ने भएकोले होटलहरु सबै प्रायः टनाटन देखिन्थे । वुद्धमन्दिर र गोसाइकुण्डमा होटहरु प्याक भैसकेको हल्ला र यात्रा टोलीका २ जना साथीहरुलाई केहि श्वासप्रश्वासमा देखिएको सामान्य समस्याले गर्दा त्यस दिनको यात्रालाई त्यहिं पूर्णविराम लगाउने अठोट गरियो । प्लाष्टिक र त्रिपालले बेरिएका थर्पु समेत प्याक भइरहेको अवस्थामा भाग्यवश एउटा ढुंगामाटोले बनेको पूरानो घरजस्तो होटलको बुईंगल सुत्नको लागि ठाउँ पाइने देखियो र कुरा गरियो । प्रति व्यक्ति २ हजारमा सुत्न र खान पाइने गरी । खाना खान मन छैन र खान्न भन्दापनि पैसाचाहिं उत्तिनै बुझाउनुपर्ने शर्तमा । 

भोलीपल्ट विहान सबेरै (३ः०० बजेनै) लौरीविनायकको त्यो उकालो यात्राको तय गरियो । ७०–७५ वर्षमा वृद्धवृद्धाहरुलाई पनि यात्राको क्रममा फाट्टफुट्ट भेटिने गर्दथ्यो । त्यस हिसाबले सोचेजति कठिन नलागेपनि उचाइ बढ्दै जाने क्रममा अक्सिजनको कमीले पहिलेको ऊर्जामा केही शिथिलताको अनुभव हुन थाल्यो । हिँडाइलाई केही सुस्त बनायौं । २–४ पाइलाअघि सर्दै बस्दै जाने क्रममा हामी ५ बजे मात्र ३९१० मिटर उचाइमा अवस्थित लौरी विनायकको उकालो छिचोल्यौं । वुद्ध मन्दिर पुगेपछि उकालो लगभग सकिंदो रहेछ । त्यहाँबाट फलाको रेलिङ्ग समात्दै अगाडी वढ्न थाल्यौ । अगाडी वढ्ने क्रममा करिब १ देखि डेढ घण्टाको बाटो लाइन नलागरै लाइन बसेको महसुश हुँदो रैछ । 

लाइनकै इसारामा हामी ४३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा पुग्यौं । हिन्दुहरूका आफ्ना आराध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशुलबाट गोसाँकुण्ड सिर्जना गरेको विश्वास गर्दा रहेछन् । त्रिशुली नदीको श्रोत पनि यही कुण्ड रहेछ। राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सन्धपको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएका रहेछन् ।

गोसाइँकुण्डमा जम्मा १०८ कुण्ड रहेछन् । तीमध्ये गोसाइँकुण्डलाई विशेष महत्वका साथ हेरिंदो रहेछ ।  भैरव कुण्डको दर्शन गर्ने कुरलाई त्यति प्रभावकारी मानिंदो रहेनछ । सरस्वती कुण्ड गोसाईकुण्डभन्दा १ घण्टाको अर्को यात्राभित्र पर्ने रहेछ । त्यहाको लोकेशन ख्याल गरियो तर जान सकिएन । 

गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश हिमाल, लाङटाङग हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिने रहेछ । कतिपय पैदल यात्रीहरू सुन्दरीजल, हेलम्बुबाट पनि गोसाइकुण्ड दर्शन गर्न आउँदा रहेछन् । फर्कंदा भने ट्रेकिङका यात्रीहरू हेलम्बु भएर जान रुचाउँदा रहेछन् । हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिने भएकोले पनि पैदलयात्रीको लागि रोजाइको विषय हुन सक्छ । गोसाइँकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण रहेछ ।

अक्सिजनको कमीले हामीमा यात्रा तय गर्ने मार्गमा समस्या त छँदै थियो तर पनि प्रकृति हाम्रो साथमा रहिरहेकोले हामी ऊर्जाशील थियौं । निलो ब्रह्माण्डरुपी छहारीमा तातो किरणले हामीमा ऊर्जा थपिरहेकै थियो । प्रकृतिले हामीमाथि गरेको करुणमा अझ घनिभूत हुँदै कठ्यांग्रिदो चिसो कुण्डमा पनि तीन–तीन पटक डुबुल्की मारी टुंगिन नपाएको अभिलाषाको साथै जीवनमा यस ठाउँको पहिलो चरणको यात्रा सफलताका साथ सम्पन्न गर्ने मनोकांक्षा पूरा भएकोमा आनन्दित छु । 


प्रतिक्रिया



थप समाचारहरु