नुवाकोट-बाढीमा पुरिएको घरबाट सशस्त्र प्रहरीको उद्धार टोलीले सुन, चाँदी तथा नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ।
भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वार्टर, नुवाकोटको टोलीले विदुर नगरपालिका– १, त्रिशूलीबजारस्थित बाढीमा पुरिएको घरबाट धनमाल फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार विदुर नगरपालिका– १ स्थित अनुज जोशीको घरबाट सुन, चाँदी तथा नगद रकम फेला परेको थियो।
बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म, नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमान्डमा १० जनाको टोली उक्त स्थानमा खटिएको थियो।
टोलीले जोशीको घरमा १५ तोला सुन, ६ तोला चाँदी तथा अन्दाजी चार लाख रुपैयाँ नगद फेला पारेको थियो। फेला परेको नगद तथा गरगहना सम्बन्धित घरधनी अनुज जोशीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बाढीका कारण घर तथा सम्पत्तिमा क्षति पुगेपछि सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।