बाढीपीडितको घाउमा जापानी कम्पनीको 'मल्हम' : डिस्कभरी सपोर्टद्वारा १० लाख सहयोग


मेचीकाली

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडामा जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लिमिटेडले मल्हम लगाउने प्रयास गरेको छ।

बाढीबाट प्रभावित तथा पीडितहरूको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट उक्त सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। ग्लोबल आईएमई बैंकमार्फत १० लाख रुपैयाँको चेक प्रदान गरिएको कम्पनीले जनाएको छ।

विपद्को कठिन घडीमा पीडित नेपालीको साथमा उभिँदै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

डिस्कभरी सपोर्टका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा परिचित छन्। उनले जापानमा रहेका नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा लामो समयदेखि आर्थिक तथा अन्य प्रकारको सहयोग गर्दै आएका छन्।

गत वर्ष मात्रै डिस्कभरी सपोर्टले एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्टलगायतका कार्यक्रमलाई सहयोग गरेको थियो।

नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसायसमेत सञ्चालन गर्दै आएको डिस्कभरी सपोर्टले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिसँग निरन्तर सहकार्य गर्दै आएको छ।

नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

भोटेकोशी बाढीले दिएको पीडाका बीच प्राप्त यो सहयोगले राहत तथा उद्धार कार्यमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। जापानी नागरिक तथा व्यवसायीबाट विपद्का बेला नेपाली पीडितका लागि गरिएको सहयोगले नेपाल–जापानबीचको जनस्तरको सम्बन्ध र मानवीय सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

बाढीले घर, सम्पत्ति र आफन्त गुमाएका परिवारका लागि १० लाख रुपैयाँको सहयोग केवल आर्थिक सहायता मात्र नभई विपद्को समयमा आफूहरू एक्लो नभएको अनुभूति गराउने मानवीय साथसमेत बनेको छ।

प्रतिक्रिया



थप समाचारहरु