काभ्रे । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको सहयोगका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेले ३६ लाख ३६ हजार ४२४ रुपैयाँ सहयोग गरेको छ।
प्याब्सन काभ्रेले संकलन गरेको उक्त रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। जिल्लाभर प्याब्सन काभ्रेको सदस्यतामा रहेका ७४ वटा विद्यालयबाट उक्त सहयोग रकम संकलन गरिएको जनाइएको छ।
केन्द्रीय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्याब्सन केन्द्रमा आयोजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा केन्द्रीय सह–अध्यक्ष गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, उपाध्यक्ष आशिष श्रेष्ठ र सन्तोषमणि न्यौपाने, महासचिव आर.बी. कटवाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल, उप–महासचिव भीमसेन के.सी., केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल तथा केन्द्रीय परिषद् सदस्य रवि श्रेष्ठलगायतको उपस्थिति थियो।
प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलसहित जिल्ला पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।
प्याब्सन काभ्रेअन्तर्गत विभिन्न स्थानीय तहबाट संकलित सहयोग रकममध्ये प्याब्सन बनेपाले १७ लाख ५७ हजार २३५ रुपैयाँ, प्याब्सन पनौतीले ११ लाख २४ हजार ३३ रुपैयाँ, प्याब्सन पाँचखालले २ लाख ९५ हजार ४८४ रुपैयाँ र प्याब्सन धुलिखेलले २ लाख ८० हजार ६६६ रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी प्याब्सन मण्डनदेउपुरबाट १ लाख ३८ हजार ४०१ रुपैयाँ, नमोबुद्धबाट २० हजार रुपैयाँ, रोशीबाट १५ हजार ५० रुपैयाँ र भुम्लुबाट ५ हजार ५५५ रुपैयाँ संकलन भएको छ।
प्याब्सन काभ्रेले विपद्को समयमा पीडितहरूको साथमा उभिनु मानवताको सच्चा परिचय भएको उल्लेख गर्दै सहयोग गर्ने सबै सदस्य विद्यालय, विद्यालय परिवार तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।