काभ्रेमा चुनावी तयारी सुरु, एकीकृत सुरक्षा योजना तयार


मेचीकाली

धुलिखेल–आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि काभ्रेमा तयारी तीब्र बनाइएको छ । चुनावका लागि गृह मन्त्रालयको निर्देशन अनुसार एकीकृत सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

निर्वाचन दिवस २०७८ को अवसरमा आज जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै पाण्डेले चुनावी तयारीका लागि विभिन्न कार्यालयबीच समन्वय र सहकार्य भइरहेको बताइन् । समावेशी लोकतन्त्रको मर्मअनुसार हुन लागेको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा योजना तयार पारिएको र अझै थप योजना तयारीका लागि माथिल्लो निकायको निर्देशन पर्खिरहेको उनले बताइन् ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले स्थानीय तह चुनावको तयारीका विषयमा जानकारी दिएका थिए । उनका अनुसार फागुन २० सम्म मतदाता परिचयपत्र हराएका नागरिकहरूले परिचयपत्रका लागि वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । थप भएका मतदाता र ठाउँ सारी गरेका मतदाताले भने यस्तो निवेदन दिनुपर्ने छैन । 

जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै निर्वाचन प्रमुख राईले यस अघि कायम गरिएका १८९ वटा मतदान स्थलका ३५० वटा मतदान केन्द्र हालसम्म कायम रहेको बताएका छन् । मतदान केन्द्रको अन्तिम सूची भने आयोगबाट प्राप्त हुन बााकी रहेको उनले बताए । काभ्रेमा झण्डै ३ लाख मतदाता हुने अनुमान गरिएको छ । राईका अनुसार २०७४ सालमा २ लाख ७२ हजार २ सय ९२ मतदाता रहेका थिए । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु