‘आगामी निर्वाचनपछि समाजवादी पार्टी प्रमुख पार्टी बन्नेछ’– मन्त्री चौधरी


मेचीकाली

धुलिखेल– शहरी विकास मन्त्री मेटमणी चौधरीले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा नेकपा एकिकृत समाजवादी नेपालको प्रमुखको पार्टी बन्ने दावी गर्नुभएको छ । एकिकृत समाजवादीका जिल्लास्थित जनवर्गिय संगठनले आयोजना गरेको जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा एकिकृत समाजवादी पार्टी दोस्रो वा तेस्रो पार्टी बन्ने दावी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ करिब १७ जना र समानुपातिकबाट करिब ३० जना गरी ४७ सांसद जित्ने दावी गर्दै समाजवादी पार्टीले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

मन्त्री चौधरीले आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीसहितको छ दलिय गठबन्धन हुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पराजित हुने डरले एमालेका कतिपय नेताले पार्टी एकता गर्न अनुरोध गरेको बताउँदै आगामी प्रदेश  र सङ्घीय निर्वाचनमा एमालेसँग चुनावी तालमेल नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो आचरण, बोलि, कार्यशैली, बानी व्यहोरा सुधार गरेर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो । पछिल्लो समय नेपाली समाजले भ्रष्टचारमा संलग्न नभएको, पढेलेखेको, विषय विज्ञता भएको नेतृत्वको खोजी गरेको बताउँदै पार्टीका तर्फबाट विजयी भएका जनप्रतिनिधिले यी कुरालाई मनन गर्दै आफैबाट परिवर्तन गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पाटीलाई सुधार गर्नका लागि जनप्रतिनिधि आफै सुध्रन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय उपभोक्ता समिति राजनीतिक दलका नेता मिलेर खाने थलो बनेको आरोप लगाउनुभयो । उहाँले जनप्रतिनिधिहरुले विज्ञ समुहसँग छलफल गरेर के कस्ता काम गर्ने भन्ने बारेमा योजना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, एकिकृत समाजवादी जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमलगायतले आफ्नो भनाई राख्नुभएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु