सरकारबाट बहिरियो जसपा नेपाल, यादव र कार्कीको राजिनामा


मेचीकाली

काठमाडौं-जनता समाजवादी पार्टी जसपा नेपाल सरकारबाट बाहिरिएको छ । उक्त पार्टीबाट सरकारका गएका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएसँगै पार्टी सरकारबाट बाहिरिएको हो ।

जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको यादवले बताए । उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् । उनीसँगै स्वास्थ्य राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका हुन् ।

यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा बनेको छ । जसपा नेपालका सात सांसद जसपातिर लागेका छन् भने यादवको पक्षमा पाँच सांसद छन् । नयाँ बनेको पार्टीले पनि सरकारलाई समर्थन गर्ने जनाएको छ । यसपछि प्रधानमन्त्री प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका थिए । सरकारबाट हटाउने निर्णय हुनुअघि नै बाहिरिन पार्टीका नेताहरुले दबाब दिएपछि यादव र कार्कीले राजिनामा दिएका हुन् । 

प्रतिक्रिया



थप समाचारहरु

 

धुलिखेल आएर के भने केपी ओलीले ?