स्थानीय चुनाव : काभ्रेका शहरी क्षेत्रमा माओवादी 'शुन्य'


मेचीकाली

बनेपा–काभ्रेका १३ वटै स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । यसपटक एमालेविरुद्ध पाँच दलले गठवन्धन बनाएर जिल्लाका अधिकांश पालिकाको नेतृत्व हात पारे पनि गठवन्धनको मुख्य दल मानिएको माओवादी केन्द्र शहरी क्षेत्रमा भने एउटा पद पनि जित्न असफल भएको छ ।


जिल्लाका शहरी क्षेत्र बनेपा धुलिखेल र पनौतीमा माओवादीले एक जना पनि प्रतिनिधि निर्वाचित गर्न नसकेको हो । माओवादीले आश गरेको पाँचखाल नगरपालिकाको उपप्रमुख पदसमेत गठवन्धनमा आवद्ध दलको धोकाकै कारण गुमाएको छ । माओवादीले बनेपा, धुलिखेल र पनौतीमा नगर प्रमुख र उपप्रमुखमा कुनै भाग पाउन सकेको थिएन । वडा तहमा माओवादीले उम्मेदवारी दिएको अधिकांश पदमा न्यूनमात्रै मत आएको छ ।


बनेपा र पनौती नगरपालिकामा नेकपा एमालेले बहुमत कायम गर्दा कांग्रेस अल्पमतमा परेको छ । बनेपामा उपप्रमुख तथा नगरको १४ वटा वडामध्ये १, ४, ५, १०, ११, १२ र १३ एमालेले जितेको छ । कांग्रेसले कांग्रेस २, ३, ७, ८, ९ र १४ तथा एकीकृत समाजवादीले वडा नं. ६ मा जित हात पारेको छ । यो नगरका ७२ जनप्रतिनिधिमा माओवादी शुन्य हुँदा एमालेले ३६ पदमा जित हात पारेको छ । वडा नं. ६ को पाँच जना जनप्रतिनिधि नै एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् ।  गठवन्धनको क्रममा बनेपामा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा एमालेबाट पराजित हुनुपरेको छ । 


धुलिखेल नगरपालिकामा एमालेले नगर प्रमुख तथा वडा नं. एमाले २, ३, ५, ११ र १२ मा जित हात पारेको छ । वडा नं. ७ मा वडाअध्यक्ष राप्रपाबाट विजयी हुँदा बाँकी प्रतिनिधि एमालेबाटै विजयी भए भने वडा नं. ८ मा एकजना सदस्य पनि एमालेले जितेको छ । कांग्रेसले धुलिखेलमा उपप्रमुखसहित वडा नं. १, ४, ६, ८, ९ र १० मा जित हात पार्दा गठवन्धनबाट प्रमुख पाएको एकीकृत समाजवादीले लज्जास्पद हार बेहोर्नुपरेको छ । यो नगरमा पनि एकीकृत माओवादीले एकजना पनि जनप्रतिनिधि निर्वाचित गराउन सकेन ।  


पनौतीमा पनि एमालेले उपप्रमुखसहित बहुमत वडामा जित हात पार्दा माओवादी शुन्य अवस्थामा आइपुगेको छ भने एकीकृत समाजवादीले एकजना वडा अध्यक्ष र एकजना दलित महिला सदस्यमात्रै जित्न सक्यो । एकीकृत समाजवादीले वडा नं. १२ मा वडाअध्यक्ष र दलित महिला सदस्य जित्दा उक्त वडाका अन्य सदस्य एमालेले जित्यो । गठवन्धन गर्दा एकीकृत समाजवादीले उपप्रमुख पद पाए पनि उक्त पार्टीका उम्मेदवार छबिलाल हुमागाईं पराजित हुन पुगे । एमालेले पनौतीमा उपमेयरसहित २, ३, ४, ६, ७, ८ र ११ वडा जित्दा कांग्रेसले कांग्रेस १, ५, ९ र १० नंवर वडामा जित हात पारेको छ । 


विगतमा पनि बनेपामा निकै कमजोर देखिएको माओवादी केन्द्रले पनौती र धुलिखेलमा केही प्रतिजिधि निर्वाचित हुने आश गरे पनि गठवन्धनभित्रै बेमेल भएका कारण एकजना पनि आफ्ना उम्मेदवारलाई विजयी गराउन सकेन । गठवन्धनको फाइदा भने माओवादीले जिल्लाका ग्रामीण क्षेत्रमा भने लिएको छ । चौरीदेउराली, भुम्लु, खानीखोला र महाभारतमा माओवादीले अध्यक्ष जित्न सफल भयो भने कांग्रेसको सहयोगमा नमोबुद्धमा उपप्रमुख तथा बेथानचोक, तेमाल र रोशीमा उपाध्यक्ष जित्न सफल भयो । एमालेले महाभारतमा एकजना पनि जनप्रतिनिधि निर्वाचित गराउन सकेन भने बेथानचोकमा एकजना सदस्य जितको छ । 


प्रतिक्रिया



थप समाचारहरु