काभ्रे–धुलिखेलमा जारी नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । वन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरु पारित भएपछि आज साँझदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार अहिले बेलुका ७ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । राती ९ बजेसम्म मनोनयन दर्ता हुनेछ भने आजै राती ११ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ । भोली बिहान ७ देखि ७ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ७ः३० देखि ८ बजेसम्म दाबीविरोधमा छानवीन हुने, ८ बजेदेखि ८ः१५ बजेसम्म पुन ः उम्मेदवारको नामावली प्रकाशन हुने तथा उम्मेदवारको नाम फिर्ताका लागि ८ः१५ देखि ९ बजेसम्मको समय तय भएको छ ।
यस्तै १० बजे अन्तिम नामावली प्रकाशन र १२ बजेदेखि मतदान हुनेछ । विद्युतीय मेसिनबाट मतदान गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । एमालेको जिल्ला कमिटीमा ५ जना पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० जना सदस्य, समावेशीतर्फ १३ जना सदस्य र खुलातर्फ ७ जना सदस्य गरी कुल १०५ जना निर्वाचित हुनेछन् । यस्तै लेखा आयोगमा अध्यक्ष र सचिवसहित ७ जना निर्वाचित हुनेछन् ।