सुरु भयो एमालेको संकल्प यात्रा


मेचीकाली

वैतडी–प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट सुरु भएको छ । 

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बैतडीको झुलाघाटबाट अभियान आरम्भ गरिएको छ । बैतडीको झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गरेका छन् । अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै हिजो नै झुलाघाट पुगेका थिए । संकल्प यात्रा नाम दिइएको यो अभियानको पहिलो दिन अमरगढी पुगेर समापन हुनेछ । त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मंगलसेन पुगेर समापन हुनेछ । 

चौथो दिन मंगलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । १८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको एमालेले जनाएको छ । त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ । अध्यक्ष ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु