अधिकाँश उपप्रमुख र उपाध्यक्ष दोहोरिन इच्छुक


मेचीकाली

काभ्रे– स्थानीय तहको निर्वाचनको मिति आउन २० दिन बाँकी रहँदा काभ्रेका विभिन्न स्थानीय तहमा उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी वहन गर्नुभएका अधिकाँश जनप्रतिनिधिहरु पुनः सोही पदमा अबको पाँच वर्ष काम गर्न इच्छुक देखिनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये अधिकाँशका उपप्रमुख तथा उपाध्यक्षले अबको एक कार्यकाल पुनः सोही पदमा काम गर्न ईच्छुक रहेको बताउनुभएको छ । उपप्रमुख तथा उपाध्यक्ष मात्रै नभई नगर प्रमु्ख तथा गाउँपलिकाको अध्यक्ष, वडा अध्यक्ष, तथा सदस्यहरु अर्को एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन् । 

जिल्लाको पनौती नगरपालिकाकी उपप्रमुख गिता बञ्जाराले आफुहरु निर्वाचित भएपछि कोरोना सङ्क्रमण देखापरेको र कोरोनाका कारण दुई वर्ष र एक वर्ष विभिन्न तहको निर्वाचनका कारण काम गर्न नसकिएको बताउनुभयो । ‘तीन वर्ष विभिन्न कारणले काम गर्न सकिएन पछिल्लो समय दुई वर्ष आफ्नो जिम्मेवारीका कामहरु सुरु गरेको थिएँ, हामीले बनाएका विभिन्न नीति, कानुनहरुको कार्यान्वयन र आफुले सुरु गरेका काम पुरा गर्न पुनः उपप्रमुख पद दोहोराउन चाहेको हुँ’ उहाँले थप्नुभयो । उहाँले आफुले अघि बढाएक कामहरु पुरा गर्न उपप्रमुख पदमा पुनः दोहोराउन चाहेपनि पार्टीले कस्तो निर्णय गर्ने भन्ने विषयमा आफु पार्टीको निर्णय कुरेर बसेको बताउनुभयो । पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाका अधिकाँश जनप्रतिनिधीले पुनः सोही पद दोहोराउन चाहेको बताउनुभयो । 

‘हामीले ६३ वटा कानुन, नीति र कार्यविधि बनाएर विभिन्न काम सुरु गरेका छौ, आफुले सुरु गरेका कानुनको कार्यान्वयन र सुरु गरेका कामहरु पुरा गर्नको लागि पुनः उपप्रमुख दोहोराउने इच्छा देखाएको हुँ’ उपप्रमुख दनुवारले थप्नुभयो । जिल्लाको रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतीले एक वर्ष काम सिक्न, दुई वर्ष कोभिडका कारण काम गर्न नसकिएको स्विकार गर्दै उहाँले पछिल्लो दुई वर्षमा आफुले धेरै काम गर्न जानेकोले आफुले अघि बढाएका कामहरु सम्पन्न गर्न उपाध्यक्ष पदमा दोहोरिन चाहेको बताउनुभयो । उहाँले पुनः उपाध्यक्षको पदमा रहेको खण्डमा आफुले जानेका र सिकेका कुराहरुलाई राम्रोसँग प्रयोग गरेर काम गर्ने बताउनुभयो । धुलिखेल नगरपालिककी उपप्रमुख बिमला शर्मा चौलागाँई पनि आफ्नो कार्यकालमा सुरु गरेका कामहरु पुरा गर्न एक कार्यकाल पुनः उपप्रमुखमा दोहोरिन चाहेको बताउनुभयो । 

यसैगरी जिल्लाको तेमाल गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकामा पुरा गर्नुपर्ने तेमाल बृहत खानेपानी, सडक कालोपत्रे गर्ने, तामाङ सङ्ग्राहलय, अस्पतालको काम पुरा गर्न पुनः उपाध्यक्ष पदमा दोहोरिन चाहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सुरु गरेका कामहरु पुरा गर्न र आफ्नो हालसम्मको अनुभवहरु प्रयोग गर्न उपाध्यक्ष पदमा दोहोरिन चाहेको बताउनुभयो । त्यस्तै जिल्लाको नमोबुद्ध नगरपालिकाकी उपप्रमुख रामदेवी तामाङले गठबन्धन भएको खण्डमा आफु पुनः उपप्रमुखमा दोहोरिन चाहेको बताउँदै गठबन्धन भएर आफुले उपप्रमुखको टिकट नपाएको खण्डमा स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिने बताउनुभयो । 

‘संविधानले एउटै पदमा दुई कार्यकाल काम गर्न सक्ने व्यवस्था गरेको छ, नगरभित्रका महिला तथा युवाहरुको क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको र आफुले अघि बढाएका कामहरु पुरा गर्नको लागि म पुनः उपप्रमुख बन्ने सोच हो’ उपप्रमुख तामाङले थप्नुभयो । यस्तै जिल्लाको मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख निर्मला शाही र बनेपा नगरपालिकाकी उपप्रमुख रेखा दाहाल सापकोटाले उपप्रमु्ख पदमा रहेर कार्य सम्पादन राम्रो भएको बताउँदै आगामी निर्वाचनमा कुनै पदमा उम्मेदवारी नदिने बताउनुभएको छ । उहाँहरुले पाटर्ठीले दिएको जिम्मेवारीमा रहने बताउनुभयो । 

जिल्लाको चौरीदेउराली गाउँपालिकाकी उपाध्यक्ष तारादेवी गौतम चौलागाँईले गाउँपालिकको अध्यक्षमा उठ्ने इच्छा भएको बताउँदै पार्टीले आफुभन्दा सिनियर व्यक्ति उठाएको खण्डमा अध्यक्षको दावीबाट हटेर पुनः उपाध्यक्षमा दोहोरिने बताउनुभयो । भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले गाउँपालिकालाई पर्यटकिय विकास, कृषि, स्थानीय नागरिकलाई आम्दानीसँग जोड्न आगामी निर्वाचनमा आफ्नो उम्मेवारी गाउँपालिका अध्यक्षमा हुने बताउनुभयो । 

एक कार्यकाल उपप्रमुख तथा उपाध्यक्ष मात्रै दोहोरिन नखोजी एक कार्यकाल नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्व सम्हालेका व्यक्ति पनि पुनः दोहोरिने इच्छा देखाएका छन् । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना, पनौतीका भिम न्यौपाने, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङलगायतका प्रमुख पदमा रहेका जनप्रतिनिधी समेत दोहोरिन इच्छुक देखिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु