काभ्रेको भैसेपाटीमा ग्यास बुलेट र मोटरसाइकल ठोक्किँदा बालकको मृत्यु, बाबुआमा घाइते


मेचीकाली , 

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा ग्यास बोकेको बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान करिब ५ः३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एचआर ३८ एएल १६३४ को ग्यास बुलेटले बागमती प्रदेश ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलमा सवार खोटाङ घर भएका नौ वर्षीय जुवास बुढाथोकीसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा बिहान करिब ६ बजे चिकित्सकले जुवासलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा जुवासका बुबा चन्द्र बुढाथोकी मध्यम घाइते भएका छन् भने आमा रेणुका राईको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु