एक वर्षमा काभ्रेमा थपिए १ हजार १८ खानेपानीका धारा


मेचीकाली

काभ्रे - काभ्रेपलाञ्चोकका आठ स्थानीय तहमा पछिल्लो एक वर्षमा खानेपानीका १ हजार १८ नयाँ धारा थपिएका छन्। बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकमार्फत सञ्चालित विभिन्न आयोजनाबाट ती धारा निर्माण भएका हुन्।

गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका आठ स्थानीय तहमा खानेपानीसम्बन्धी ५५ वटा आयोजना सम्पन्न गर्दै प्रदेश सरकारले नयाँ धारा निर्माण गरेको डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका डिभिजन प्रमुख श्रृष्टि ख्वालापालाका अनुसार सबैभन्दा धेरै धारा भुम्लु गाउँपालिकामा ३३८ वटा निर्माण भएका छन्। त्यसपछि रोशी गाउँपालिकामा ३०६, पनौती नगरपालिकामा १८८, नमोबुद्ध नगरपालिकामा ५५, पाँचखाल नगरपालिकामा ४१, चौरीदेउराली गाउँपालिकामा ४१, खानीखोला गाउँपालिकामा ३६ र मण्डनदेउपुर नगरपालिकामा १४ वटा नयाँ धारा जडान गरिएको छ।

नयाँ धारा निर्माणसँगै जिल्लाका विभिन्न स्थानीय तहमा खानेपानी पूर्वाधार विस्तार र सुधारका कामसमेत भएका छन्। कार्यालयका अनुसार गत वर्ष बनेपा नगरपालिकामा ६, पनौतीमा ३, धुलिखेल, बेथानचोक र महाभारतमा १/१, नमोबुद्धमा ९, पाँचखालमा ४ तथा मण्डनदेउपुरमा ५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै रोशीमा ६, खानीखोलामा ४, तेमालमा २, भुम्लुमा ३ र चौरीदेउरालीमा १० वटा आयोजना सम्पन्न गरिएको डिभिजन प्रमुख ख्वालापालाले जानकारी दिनुभयो।


५० किलोमिटरभन्दा बढी मुख्य पाइपलाइन

खानेपानी आयोजनाअन्तर्गत गत वर्ष जिल्लामा २० वटा इन्टेक तथा सम्पवेल निर्माण भएका छन्। यसैगरी ५०.५८ किलोमिटर मुख्य ट्रान्समिसन पाइपलाइन र १०९.५५ किलोमिटर वितरण पाइपलाइन विस्तार गरिएको छ।

त्यस अवधिमा ४७ वटा पानीपोखरी निर्माण गर्नुका साथै १८ वटा पम्पघर पनि बनाइएको कार्यालयले जनाएको छ। खानेपानीका स्रोत संरक्षण तथा ढुङ्गेधाराको मर्मत–पुनःस्थापनातर्फ पनि काम भएको छ। कार्यालयका अनुसार ७ वटा पानीको स्रोत संरक्षण तथा ढुङ्गेधारा मर्मत–पुनःस्थापना, ०.३७ किलोमिटर ढल निर्माण, ३९ वटा भल्भ च्याम्बर, २ वटा कलेक्सन च्याम्बर, ३ वटा वासआउट च्याम्बर र ३ वटा ब्रेक प्रेसर ट्याङ्की निर्माण भएका छन्।


चार हजारभन्दा बढी जनसंख्या लाभान्वित

यी खानेपानी आयोजनाबाट काभ्रेपलाञ्चोकमा थप ४ हजार ७२ जनसंख्या प्रत्यक्ष लाभान्वित भएको कार्यालयले जनाएको छ। यद्यपि जिल्लाका सबै स्थानीय तहमा नयाँ धारा निर्माण भएका छैनन्। गत आर्थिक वर्षमा बनेपा, धुलिखेल, बेथानचोक, महाभारत र तेमालमा नयाँ धारा जडान गरिएको छैन।

यसरी एकै वर्षमा एक हजारभन्दा बढी नयाँ धारा थपिनुले ग्रामीण तथा खानेपानीको पहुँच कमजोर रहेका क्षेत्रमा आधारभूत खानेपानी पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानी बढेको देखाएको छ।

प्रतिक्रिया



थप समाचारहरु