काठमाडौं- नेपाल नापित समाज केन्द्रीय समितिको आयोजनामा एसईई २०८२ मा उत्तीर्ण नापित समुदायका विद्यार्थीहरूको सम्मान कार्यक्रम काठमाडौंको बागबजारस्थित न्हूजः पार्टी प्यालेसमा सम्पन्न भएको छ।
नेपाल नापित समाज केन्द्रीय समितिका अध्यक्ष ज्ञानबहादुर नापितको सभापतित्वमा सम्पन्न कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापित प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल नापित समाज अक्षयकोष सञ्चालन समितिका संयोजक पुरुषोत्तम नापित, समाजका निवर्तमान अध्यक्ष राजन नापित, सल्लाहकार नारायण नापित, कानुनी सल्लाहकार प्रबिण नापित, सौरभ छात्रवृत्ति कोषका संस्थापक तीर्थ नापित, बैंकिङ ट्रेनर पूर्णमान नापित तथा समाजसेवी पूर्णराज शाक्यलगायतको उपस्थिति रहेको थियो।
समाजका सचिव राजेन्द्र नापित नेवाःले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि दिनेशकुमार नापितले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। समाजका उपाध्यक्ष श्यामहरि नापितले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव राजेन्द्र नापितले कार्यक्रमको उद्देश्य तथा समाजका गतिविधिबारे प्रकाश पार्नुभएको थियो।
एसईई २०८२ मा उत्तीर्ण नापित समुदायका १९ जना विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो। प्रमुख अतिथि दिनेशकुमार नापितले विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने सभापति ज्ञानबहादुर नापितले खादा ओढाएर सम्मान गर्नुभएको थियो।
त्यसैगरी, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको थियो। ललितपुर निवासी प्रदिन नापित प्रथम, हरिसिद्धि निवासी क्रिजन नापित द्वितीय र पोखरा निवासी ओसिन नापित तेस्रो भएका थिए ।
कार्यक्रममा उपस्थित अतिथि तथा समाजका पदाधिकारीहरूले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी शैक्षिक यात्राका लागि सफलताको कामना गरेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यार्थीहरूको सफलताले परिवारसँगै नापित समुदाय र समाजलाई समेत गौरवान्वित बनाएको बताए। एसईई उत्तीर्ण गरेपछि अब विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार उच्च शिक्षा अध्ययन गर्दै भविष्य निर्माणतर्फ अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
उच्च शिक्षा हासिल गरी देश तथा समाजका लागि योगदान पुर्याउन विद्यार्थीहरूलाई आग्रह गर्दै वक्ताहरूले अध्ययनसँगै अनुशासन, मेहनत र सकारात्मक सोचलाई निरन्तरता दिनुपर्ने बताए। शिक्षा नै व्यक्ति, परिवार, समाज र राष्ट्रको विकासको महत्वपूर्ण आधार भएकाले विद्यार्थीहरूको शैक्षिक प्रगतिमा समाजले आवश्यक सहयोग र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा नापित समुदायका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा अघि बढाउन तथा उनीहरूको प्रतिभा र क्षमता विकासका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो।
समाजका तर्फबाट विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गरी आफ्नो क्षमता र प्रतिभाअनुसारको क्षेत्रमा सफलता प्राप्त गर्न शुभकामना दिँदै समाज र समुदायको विकासमा योगदान पुर्याउने सक्षम जनशक्ति बन्न आग्रह गरिएको थियो।