सूर्यविनायक–धुलिखेल सडक : टाउको दुखाई बन्यो खानेपानी र ढल व्यवस्थापन


मेचीकाली

बनेपा– सूर्यविनायक–धुलिखेल सडक खण्ड निर्माण सुरु भएको एक वर्ष भयो । यसबीचमा निर्माणकार्यले तीब्रता लिइरहेको छ । तर, बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापन भने टाउको दुखाईको विषय बनेको छ । 

दुई नगरपालिकामा नै सडकमुनि खानेपानी र ढलको पाइप बिछ्याइएकोले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आयोजनालाई समस्या परेको हो । सुर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना अन्र्तगत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म १७ किलोमिटर सडक विस्तारको काम भईरहेको छ । 

अरनिको राजमार्ग विस्तारको क्रममा भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भञ्ज्याङदेखि धुलिखेलसम्मको साढे किलोमिटर सडकमध्ये साढे चार किलोमिटर सडक खण्ड बनेपा र चार किलोमिटर सडक धुलिखेल नगरपालिकामा पर्दछ । सडक विस्तारको क्रममा विशेष गरी बनेपा नगरपालिकाको पुलबजारदेखि बुडोलको चण्डेश्वरी खोलासम्मको सडकमा रहेको खानेपानी र ढल व्यवस्थापनको विषयमा केही चुनौती देखिएको आयोजनाले जनाएको छ ।

 आयोजनका इन्जिनियर विष्णुप्रसाद खनालले सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिकाभित्र राजमार्गको दायाँबायाँ गरी करिब बत्तीस सय मिटर र धुलिखेल नगरपालिकाका एक किलोमिटर ढलको ब्यवस्थापनमा बढी समस्या देखिएको बताए । सडक विस्तारको क्रममा खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगरपालिका र काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनालाई अनुरोध गरेर धुलिखेल नगरपालिका क्षेत्रभित्र खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको उनले बताए ।

खनालले धुलिखेल नगरपालिकामा खानेपानीको पाइप स्थानान्तरण गर्ने काम भईरहेको बताउँदै सडक विस्तारको क्रममा धुलिखेलमा भन्दा बनेपामा ढल व्यवस्थापन र खानेपानीको पाइप व्यवस्थापनमा चुनौती बढी देखिएको बताए । उनका अनुसार आयोजनाले अध्ययन गर्दा धुलिखेल नगरपालिकामा खानेपानीको व्यवस्थापनमा एक करोड र ढल व्यवस्थापनमा चार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सडक विस्तार गर्ने क्रममा बनेपामा नदेखिएका विभिन्न खानेपानी समिति र पुरानो अव्यवस्थित ढल निकासीको व्यवस्थापनमा चुनौती रहेको उनले बताए । आयोजनाले बनेपा नगरपालिकामा खानेपानी र ढलको काम सुरु गर्दा अस्तव्यस्त देखिने भएपछि कसरी काम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु