पत्रकार महासंघ काभ्रको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न


मेचीकाली

बनेपा–नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा आज बनेपामा सम्पन्न भएको छ । 

कार्यक्रम महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । यस्तै तीनवटै तहको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने काभ्रेका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुख लगायतलाई कदरपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारहरुको वृत्ति विकासका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने काठमाडौं विश्वविद्यालयलाई सम्मान गरिएको थियो भने पत्रकारिता क्षेत्रमा लामो समय क्रियाशिल भई वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँचखाल नगरपालिकाको उपप्रमुखमा निर्वाचित सूर्यमाया दनुवार र बेथानचोक गाउँपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित मधुसुदन तिमल्सिनालाई पनि सम्मान गरियो । 

कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष पोख्रेल, सचिव गोविन्द चौलागाईं, प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल र तीर्थ लामा, महासंघ प्रदेश अध्यक्ष शिव देवकोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोला थापा, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा बनेपा हेल्थ केयर प्रालि र नेपाल पत्रकार महासंघ काभ्रेबीच पत्रकार महासंघका सदस्यहरुलाई स्वास्थ्य सेवा उपलव्ध गराउनेसम्वन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ । महासंघ अध्यष बद्रीराज तिमल्सिना र बनेपा हेल्थ केयर प्रालिका प्रबन्ध निर्देशक जितेन्द्रकुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

महासंघको साधारणसभाको वन्दसत्र प्रदेश अध्यक्ष शिव देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । वन्दसत्रले सचिव कपिल कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । वन्दसत्रमा प्रदेश अध्यक्ष देवकोटा, महासचिव कृष्ण सारु मगर, पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, महेशराज पौडेल, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, सल्लाहकार नवराज बजगाईं लगायतले महासंघले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा गनुपर्ने कामका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा अध्यक्ष बद्रीराज तिमल्सिनाले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग