रहेनन् केयूका संस्थापक उपकुलपति सुरेशराज शर्मा


मेचीकाली

काठमाडौं-काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत शर्माको बुधबार साँझ ६ः५० बजे निधन भएको हो । 

वि.सं. १९९७ साल साउनमा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएका थिए। उनले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। बेलायतबाट उनले रसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका थिए ।

नेपालमा प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि शर्मा त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए । त्यसपछि निजी क्षेत्र तथा समुदायको सहभागितामा स्वायत्त विश्वविद्यालयका रूपमा काठमाडौं विश्वविद्यालय स्थापना गर्ने अभियानको नेतृत्व उनले गरेका थिए ।  शर्मा सन् १९९१ देखि २०१२ सम्म २१ वर्ष लगातार काठमाडौं विश्वविद्यालयको उपकुलपति रहे। यस अवधिमा उनले ६ कार्यकाल विश्वविद्यालयको नेतृत्व गरेका थिए । पछिल्लो समय उनी काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको अध्यक्षको रुपमा रहेका थिए । 

शर्माको निधनप्रति विभिन्न शिक्षाविद्, राजनीतिक नेतृत्व तथा सर्वसाधारणले दुःख व्यक्त गरेका छन् । उनको निधनले नेपालको प्राज्ञिक तथा शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । पारिवारिक स्रोतका अनुसार शर्माको पार्थिव शरीर बिहीबार अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको बालकुमारीस्थित केयू स्कुल अफ म्यानेजमेन्टमा राखिनेछ । सोही दिन उनको दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया



थप समाचारहरु