विपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय


मेचीकाली

काभ्रे- आगामी असोज ८ गतेदेखि ११ गतेसम्म ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै विपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा सम्भावित बाढी–पहिरोबाट हुने क्षति कम गर्न विभिन्न निर्णय गरेको छ।

निर्णयअनुसार विपी राजमार्गको काभ्रे खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ। वर्षा तथा बाढी–पहिरोको अवस्था मूल्याङ्कन गरी दिनको समयमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाइएको छ।

त्यस्तै, उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न सिन्धुली र भक्तपुर जिल्लाका प्रहरी युनिटलाई समेत अनुरोध गर्ने निर्णय भएको छ।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णयसमेत गरेको छ। 

सम्भावित विपद् व्यवस्थापनका लागि नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रे र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरबाट उद्धार टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।

त्यसैगरी, स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ।


प्रतिक्रिया



थप समाचारहरु