रहेनन् नमोबुद्धका पुर्व नगरप्रमुख टिपी शर्मा !


मेचीकाली

धुलिखेल-नमोबुद्ध नगरपालिकाका पहिलो नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ ।

गत साउन १० गते विपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ को बीस किलो भन्ने स्थानमा दुर्घटनमा परेका शर्माको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान ४ बजे निधन भएको हो । टाउकोमा गम्भीर चोट लागेका तिमल्सिनाको साउन १० गते नै आकस्मिकरुपमा शल्यक्रिया गरिएको थियो । त्यसपछी पनि उनको पुर्णरुपमा होस खुल्न सकेको थिएन भने यसबीचमा थप शल्यक्रिया पनि गरिएको थियो ।

 दुइवटा स्कुटर एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा शर्मा र उनका छोरा किशोर तिमल्सिना तथा अर्को स्कुटर चालक घाइते भएका थिए । घाइतेमध्ये शर्माको अवस्था निकै गम्भीर थियो । दुर्घटनास्थलमै बेहोस् भएका तिमल्सिनाको होस् नखुल्दै निधन भएको हो ।

नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पुर्व पत्रकार एवं साहित्यकार समेत हुन् । उनको खाल्डोभित्र नअटेको मान्छे नामक कृति प्रकाशनको क्रममा रहेको छ भने दर्जनौं कविता प्रकाशित छन् । शर्माले युवा पत्रकारहरूलाई प्रोत्साहित गर्न नेपाल पत्रकार महासंघ काभ्रेसँगको सहकार्यमा टिपी शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी काभ्रेसँगको सहकार्यमा टिपी शर्मा युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरेका थिए । पोल्ट्री व्यवसायको क्षेत्रमा समेत तिमल्सिनालाई अब्बल मानिन्थ्यो ।

सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय शर्माले नमोबुद्ध नगरका कतिपय गरिब एवं जेहेन्दार विद्यार्थीलाई आफ्नै खर्चमा पढाउँदैसमेत आएका थिए । कोरोनाकालमा उनी औषधि लिएर नगरबासीको घरघरमा पुग्ने गरेका थिए । आफ्नो कार्यकालमा नमोबुद्ध नगरको भकुन्डे बजार क्षेत्रमा रहेका इँटाभट्टा हटाएर उनले चर्चा कमाएका थिए । शर्मा नमोबुद्ध नगरपालिका एमाले नगर कमिटीको पुर्व अध्यक्षसमेत हुन् भने नमोबुद्ध नगरपालिका स्थापनापछी उनी एमालेको तर्फबाट दलीय सयन्त्र प्रमुख समेत थिए ।

शर्माको दाहसंस्कार आजै भकुन्डेवेसीस्थित जगवैज्यश्वर घाटमा हुनेछ ।



प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो दशैं