धुलिखेलमा प्रदेशस्तरिय ‘गोदाम घर’ निर्माण


Mechikali

धुलिखेल– बागतमी प्रदेशका विभिन्न जिल्लामा हुने विपत्का घटनामा चाँडोभन्दा चाँडो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले काभ्रेको धुलिखेलमा विपत्को समयमा आवश्यक पर्ने उद्धार सामाग्री भण्डारणको लागि ‘गोदाम घर’ (वेयर हाउस) निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा प्रदेश प्रहरी कार्यालयको समन्वयमा धुलिखेल नगरपालिका–३ मा गोदाम घर निर्माण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्लामा हुने विपत्का घटनामा चाँडोभन्दा चाँडो खोज तथा उद्धार गर्ने उद्देश्यले धुलिखेलमा गोदाम घर निर्माण गरिएको बताउनुभयो । उहाँले विपत्को समयमा आवश्यक पर्ने उद्धारका सामाग्री भण्डारणको लागि घुलिखेल नगरपालिका–३ मा गोदाम घर निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । ‘हालै निर्माण सम्पन्न भएको गोदाम घरमा विपत्का समयमा खोज तथा उद्धारको लागि आवश्यक पर्ने मोटरबोट, रुख काट्ने मेसिनलगायतका विभिन्न सामाग्री भण्डारण हुनेछ’ उहाँले थप्नुभयो ।
प्रहरी उपरीक्षक खत्रीले काभ्रे तथा आसपासको जिल्लामा हुने विपत्का घटनामा उद्धार तथा खोज कार्यका लागि खटिनको लागि प्रहरी नायव निरिक्षकको नेतृत्वमा खोज तथा उद्धारका तालिम प्राप्त २५ जना प्रहरी जिल्ला प्रहरी कार्यालयमा बसिरहेको बताउनुभयो । ‘गोदाम घरमा बस्ने ठाउँ नभएकोले उद्धार कार्यमा खटिने प्रहरी जिल्ला प्रहरी कार्यालयभित्र नै बसेको छ’ उहाँले थप्नुभयो । विपत्मा खोज तथा उद्धारमा खट्नको लागि पठाइएको प्रहरी टोलीले मेलम्ची बाढीमा उद्धार तथा खोज कार्यमा सहयोग गर्नुको साथै केही दिन अघि वर्षाका कारण अवरुद्ध रहेको अरनिको र विपी राजमार्ग खुलाउन समेत महत्वपूर्ण भूमिका खेलेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।
गोदाम घर निर्माणको लागि धुलिखेल नगरपालिकाले वडा नम्बर ३ मा एक रोपनी तीन पैसा एक दाम जग्गा उपलब्ध गारएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । भक्तपुरमा रहेको अल इज वेल कन्स्ट्रक्सन प्रालिले ३१ लाख ४२ हजार २७० रुपियाँको लागतमा गोदाम घरको निर्माण गरेको हो । गोदाम घर निर्माणको लागि गत बैशाख २१ गते गोदाम घर निर्माणको ठेक्का सम्झौता भएको थियो । धुलिखेलमा बस्ने प्रहरीको विपत् व्यवस्थापन टोलीले काभ्रे तथा आसपासको जिल्लामा हुने विपत्को घटनामा छिटो भन्दा छिटो उद्धार तथा खोज कार्यमा खटिनेछ । प्रहरीको विपत् टोली बाढी, पहिरो, आगलागी, भुकम्पलगायतका विभिन्न विपत्का घटनाको उद्धार तथा खोज कार्यमा खटिनेछ ।
तत्कालको लागि विपत्का सामाग्री भण्डारणको लागि गोदाम घर निर्माण सम्पन्न भएपनि उद्धार तथा खोज कार्यका लागि आवश्यक पर्ने सामाग्री भने आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । उहाँले विपत्को समयमा खटिने प्रहरी टोली बस्ने भवन निर्माणको लागि प्रदेश सरकार र धुलिखेल नगरपालिकाले प्रतिवद्धता जनाएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु