बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन


मेचीकाली

ढुंखर्क-बेथानचोक गाउँपालिका वडा नं. ३ को खोरथापेस्थित ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन भएको छ । कूल ४९ लाख ४५ हजारको लागतमा निर्मित सो भवनको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको हो । 


भवनको उद्घाटन गर्दै उहाँले बेथानचोकको वैभव नै जल, जमिन र वनजङ्गल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने बताउनु भयो । वातावरण संरक्षण र भौतिक विकास बिचको अन्तरद्वन्दले हरेक मानवलाई छोएकोले वातावरणको सन्तुलन कायम राख्दै बेथानचोकका सामुदायिक वनको संरक्षणमा विभिन्न उपभोक्ता समितिहरुले खेलेको भूमिका अतुलनीय रहेको उहाको भनाई थियो । सबै क्षेत्रबाट बेथानचोक अथाह सम्भावना बोकी बसेको र सहरमा पुगेको पुस्ता जो पर्यावरणदेखि टाढा छ उसलाई यसको महत्व दर्शाउँदै सामुदायिक वनभित्र पर्यापर्यटन, समुदायमा आधारित उद्यम, विपन्नहरूको पहिचान गरी उनीहरूलाई वन र कृषिमा आधारित रोजगारी सृजना गर्न आवश्यक रहेको बताउनु भयो । लग्जम्वर्गका मन्त्रीले बेथानचोकमा बाटो बन्दै गरेको कुराको प्रशंसा गरेको स्मरण गर्दै उहाँले विदेशीको नजरमासमेत हाम्रा क्रियाकलापहरु राम्रो रहेको भन्दै चालु आर्थिक वर्षमा आफूहरु पूर्वाधारतर्फ पनि सडक मै केन्द्रित रहेको र सर्वसाधारणको पहिलो माग पनि सडकै भएकोले त्यसतर्फ अल्ली बढी लगानी भएकोमा भावी दिनहरुमा विकासका बहुआयामहरुमा लगानी हुने बताउनु भयो ।  


कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकालले वडा नं. ३ मा रहेको वन क्षेत्र नै सो वडाको मुल सम्पत्ति भएको र प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बेथाञ्चोक नारायण मन्दिर क्षेत्रसहितको वनसम्पदाको उचित संरक्षणका लागि वडा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।  ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको वन संरक्षण र समाज रुपान्तरणमा उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले अब वडामा रहेको बेथाञ्चोक नारायण मन्दिरको प्रचारप्रसार, पदमार्गको सरसफाईका साथै पर्यटन सूचना केन्द्रको स्थापना र सो क्षेत्र जानको लागि टिकट सिस्टम लागू गर्ने लगायतको तयारी भइरहेको बताउनु भयो । 


वडा नं. ३ मा रहेको बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको र २०५६ सालमा समुदायमा हस्तान्तरण भएको यो वनको क्षेत्रफल २ सय ६९ हेक्टरमा फैलिएको कार्यक्रममा जानकारी दिइयो । यो सामुदायिक वनले आफ्नो कार्ययोजनमा पर्यापर्यटनका क्रियाकलापमार्फत दर्जनांैलाई रोजगारी दिँदै आइरहेको बताइएको छ ।


बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष बद्रिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय काभ्रेका देविचन्द्र पोखरेल, सव डिभिजन वन कार्यालय खोपासीकी रनिता बराल, वडा सदस्यहरु बासु तिमिल्सना, बलराम बजगाई, पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, काउले, जनजागृति, नारायणस्थान, मुलडाँडा, चोरण्डे, पाटने भन्ज्याङ, भरङ्गे, कालापानी, खहरे, भुसुनेपाखा, गोरखनाथ लगायतका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु