बेथानचोकमा निःशुल्क लोकसेवा तयारी कक्षा


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाउनु भएको छ ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो । काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । कक्षा उद्घाटन गर्दै अध्यक्ष भगवान अधिकारीले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गर्नुभयो । ‘म सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखाअधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको छु । तपाईंहरू लोकसेवाको तयारी गर्नुहोस् । उहाँले शिक्षित युवा जनशक्ति विदेश पलायन हुनुभन्दा पनि सरकारी सेवामा आकर्षित भएर स्वदेशमै सेवा गर्न प्रेरित हुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको अवधारणा अगाडि सारिएको बताउनु भयो । 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गत वर्षदेखि नै यो अभियान थालिएको जानकारी दिँदै युवाहरूका लागि प्रभावकारी देखिएकाले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता दिइएको र विद्यार्थीहरूलाई लोकसेवा आयोगका कक्षा लिन आफूहरूले सक्दो सहयोग गर्ने बताउनुभयो ।  उहाँले सो तालिम कक्षा नेपाल सरकारको लोकसेवा, शिक्षक सेवा, सेना तथा प्रहरी, संस्थान आदिका लागि सहयोगी हुने बताउनु भयो । कक्षा आइक्यु र जिके गरी २ सेसनमा सञ्चालन गर्ने र मुलुकका ख्यातिप्राप्त प्रशिक्षकबाट कक्षा सञ्चालन गरिएको हुँदा यसले प्रभावकारिता पाउने विश्वास राख्नु भएको छ ।  कार्यक्रममा चैतन्य एकेडेमीका निर्देशक गणेश जोशीले लोकसेवाको तयारी कक्षा लिने विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गरिने भन्दै आफूहरुले यहाँका विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनु भयो । उहाँले अनलाइनमै नियमित नोट तथा अतिरिक्त सामग्रीहरू उपलब्ध गराउने भन्दै गाउँपालिकाले बोकेको लक्ष्यलाई लोक सेवामा सफल भइ सार्थक तुल्याउन आग्रह गर्नुभयो । उहाँले कडा मिहिनेतपछिमात्र सरकारी सेवामा प्रवेश गर्न सहज हुने भन्दै औसत भन्दा अतिरिक्त ज्ञान लिन आवश्यक रहेको र यसैका लागि आफूहरुले प्राप्त अनुभवले कक्षा सञ्चालन गर्ने बताउनु भयो ।

प्रतिक्रिया



थप समाचारहरु