भकुण्डेवेशी-काभ्रेको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा भएको हो । काभ्रे जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने अभियानअन्तर्गत नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो नगर हो ।
आज आयोजित एक समारोहकाबीच जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरे । विभिन्न मितिमा पूर्णखोप सुनिश्चितता घोषणा भएका ११ वटै वडालाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका ४ सय ७० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले जानकारी दिए । उनका अनुसार, यकिन गर्न स्वास्थ्य स्वयंसेविकाका साथै स्वास्थ्यकर्मीहरूले घरदैलो गरेका थिए ।यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।
कार्यक्रममा नगरपालिकालाई पूर्णको सुनिश्चितता घोषणा गर्न सहयोग गरेको भन्दै जनस्वाथ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, खोपकर्ता स्वास्थ्यकर्मी अरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।
कार्यक्रममा सहभागी सबैले आगामी आर्थिक बर्षमा पनि सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले खोप सामान्य चिज नभई यसले मानिसको ज्यान जोगाउन सक्ने तथ्य बुझ्न सबैमा अनुरोध गरे । नमोबुद्ध नगरपालिकाले सबै राजनीतिक दल नागरिक समाज समेतलाई समेटेर एकमना एकताका साथ काम अगाडि बढिरहेको भन्दै प्रशंसा समेत गरे ।
नगर प्रमुख कुनसाङ लामाले पूर्णखोप सुनिश्चित नगर घोषणा भएकोमा खुसी व्यक्त गर्दै यसका लागि स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गरे । नगर उपप्रमुख रत्नबहादुर लामाले महिला स्वास्थ्य स्वयंसेविकाको हकहितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सचिव नगेन्द्र अधिकारी, नगर प्रवक्ता समेत रहेका वडा नम्बर ६ का अध्यक्ष टिकाबहादुर केसी, नेकपा एमाले नगर कमिटी अध्यक्ष गणेश लामा, समाजसेवी शंखबुद्ध लामा, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, नगर स्वास्थ्य शाखाका कर्मवाङ्गेल लामालगायतले मानव स्वास्थ्य र जीवनमा खोपको महत्वबारे चर्चा गर्दै बालबालिकाको अधिकार सुनिश्चित गराउन सरोकारवाला सबैले भूमिका खेल्नुपर्ने बताए ।