नमोबुद्ध नगरले फोहोर गर्ने राजमार्गका होटल–पसललाई कार्वाही गर्ने


मेचीकाली

भकुण्डेवेशी- नमोबुद्ध नगरपालिकाले वी.पी राजमार्गको आफ्नो क्षेत्रमा फोहोर गर्ने होटल, पसल र यात्रुलाई कार्वाही गर्ने भएको छ । राजमार्ग सरसफाई अभियान सञ्चालन गर्दै आएको नगरपालिकाले राजमार्ग क्षेत्रमा फोहोर बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

सोमबार विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाईको क्रममा यहाँ सञ्चालित होटल, पसलका साथै नीजि तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फालेको भेटिएपछि नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, वडाअध्यक्षहरु रमेश तिवारी, अर्जुन कार्की, धर्मसिं लामासहितका जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारीसहितको टोलीले सचेत गराएको थियो । 

नगरपालिकाले यसअघि वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई सचेत गराउँदै कार्वाही गर्ने चेतावनी दिएको थियो । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले नगरपालिकाको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कार्वाहीसहित जरिवाना समेत गर्ने वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिए । नगरपालिकाले सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेको छ । 


प्रतिक्रिया



थप समाचारहरु