नमोबुद्ध नगरको आठौं स्थापना दिवस, कर्मचारी र स्वास्थ्यकर्मी सम्मानित


मेचीकाली

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्दै आठौं स्थापना दिवस मनाएको छ । 

बिहीबार बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले नगरको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पनि सम्मान गरेको छ । नगरपालिकाले यस बर्ष सर्वोत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी निरमाया लामालाई सम्मान गरेको छ । तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरी कार्यालयभित्र सरसफाईको क्षेत्रमा अमुल्य योगदान पु¥याउने लामालाई नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

यस्तै इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शेखर खड्कालाई नगरभित्र शान्ति, सुरक्षा र सुशासन कायम गर्न पु¥याएको योगदानको कदर गर्दै आभारपत्रबाट सम्मान गरिएको छ भने आइसोलेसन केन्द्र स्थापनाका लागि ठाउँ उपलव्ध गराउने जनक क्याम्पस, सञ्चार क्षेत्रमार्फत नगरको विकासमा सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य गर्ने धुलिखेल अस्पतालका कर्मचारी कृष्ण अधिकारी, कानुनी सल्लाहकार केदार कोइराला, स्थानीय समाजसेवी मित्र खनाल, विदेशी नागरिक लक्की र युवा अभियन्ता सञ्जीप न्यौपानेलाई आभारपत्रबाट सम्मानित गरिएको छ । 

यस्तै सञ्चार क्षेत्रसँग समन्वय र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नगरपालिकाका प्रेस सल्लाहकार विनोदकुमार न्यौपाने, उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा शाखामा कार्यरत बुद्धिराज अर्याल, लेखा अधिकृत ऋपुध्वज केसी, इन्जिनियर उज्ज्वल अर्याल, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवार, कृषि शाखा प्रमुख रेशम दाहाल, कम्प्युटर अपरेटर राजीव श्रेष्ठ, श्याम खनाल, वडा सचिव श्रीधर खनाल, स्टाफ नर्स मथुरा सत्याल, सिअहेब बलराम पौडेल, पशु प्राविधिक शिव तिवारी, कार्यालय सहयोगी ललिता पराजुली, डिल्लीवहादुर मैनाली तथा हलुका सवारीचालकहरु कर्मध्वज लामा र जगतप्रसाद तिमल्सिनालाई नगद ५ हजारसहित सम्मान गरिएको छ । 

यस्तै कोभिड १९ रोकथाम र नियन्त्रणको क्रममा सक्रियतापूर्वक खटिएका मेथिनकोट अस्पतालका डाक्टर सागर जर्घामगर, रोशी गाउँपालिकाका मेडिकल अधिकृत डाक्टर निराजन तामाङ, सिअहेब नवराज दाहाल, टिकानिधि कोइराला, राजु बोगटी, सिअनमी नानीमैया बिष्ट, सहायक पाँचौं कमल भुर्तेल, अहेब कल्पना अधिकारी, हेल्थ असिस्टेन्ट हेमन्त खनाल, अनमी सरस्वती शर्मा, अहेब प्रल्हाद थपलिया, ल्याब असिस्टेन्ट शर्मिला थिङ लामा, सञ्जीता राउत, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, कार्यालय सहयोगी मनोज पौडेल र कुमार थापालाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा प्रमुख अथिति पूर्वमन्त्री लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, नगर प्रमुख टी.पी शर्मा तिमल्सिना लगायतले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । स्थापना दिवसकै अवसरमा नगरपालिकाले शहीद नवराज पाठकको परिवारलाई विशेष सम्मान प्रदान गरेको छ । यस्तै जनप्रतिनिधि निर्वाचित भएदेखि बसेका १ सय वटा कार्यपालिका बैठक र दशवटा नगरसभा बैठकका निर्णयहरु समेटिएको पुस्तक निर्णय पुस्तिका पनि सार्वजनिक गरिएको छ । 

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री चन्द्र लामाले विकासको अभियान सुरुवात गरिएको बताए । त्यसमा पनि आफ्नै गृहनगर नमोबुद्धलाई विशेष प्राथमिकता राखेको उनको भनाई छ । चुनाव अगाडीसम्म विपी राजमार्ग बाहेक कतै कालोपत्रे नभएको अवस्थामा अहिले दाप्चा सडक लगायत अन्य क्षेत्रमा सडक कालोपत्रको काम धमाधम भइरहेको बताएका छन् । आफुहरु पहिलोपटक जनप्रतिनिधि भएर आएको बताउँदै पुर्वमन्त्री लामाले पाँच बर्षमा सबै अपेक्षा पूरा नभएपनि सक्दो काम भएको दाबी गरेका छन् । बुद्धि विवेक र क्षमताले भ्याएसम्म विभेद नगरी काम गरिरहेको उनको भनाई छ । नमोबुद्धलाई विश्व सम्पदा सूचीमा पार्न प्रदेशबाट पहल भएको पनि उनले बताए । 

यस्तै प्रदेशसभा सदस्य गोमा भुर्तेलले समग्र नमोबुद्ध नगरको विकासका लागि, महिला सशक्तिकरणका लागि आफूहरुले सक्दो पहल गरिरहेको र समृद्ध नगरको अभियानमा आफूहरु साथै रहेको बताइन् । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित हुनुअघि जनतासामू गरेका प्रतिवद्धता पुरा गर्ने अभियानमा सक्रियतापूर्वक लागेको बताए । उनले नगरका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण, सडक खानेपानी, सिञ्चाई लगायतका क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको बताए । आफूहरुको कामको मुल्यांकन जनताले नै गर्ने भन्दै तिमल्सिनाले बेथितिका अन्त्य र समृद्ध नगरको सपना साकार पार्न लागिरहने प्रतिवद्धता जनाए । तत्कालिन काशीखण्ड नगरपालिकाबाट दाप्चा काशीखण्ड नगरपालिका हुँदै नमोबुद्ध नगरपालिकासम्म आइपुग्दा नगरको समुन्नत विकासका लागि अहोरात्र खटिइरहेको तिमल्सिनाले बताए । 

कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेपाली कांग्रेसका नगर उपसभापति इन्द्रवहादुर दाहाल, माओवादी केन्द्रका नेता हरि तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।  


  


प्रतिक्रिया



थप समाचारहरु